नेपाली मुद्रा झन्झन कमजोर, डलरको मूल्य कीर्तमानी १४० रुपैयाँ नाघ्यो

काठमाडौं । अमेरिकी डलरको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको डलरको मूलयले आज फेरि नयाँ रेकर्ड बनाएको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार १ अमेरिकी डलरको बिक्रीदर १४०.२५ रुपैयाँ पुगेको छ ।

यो नेपाली मुद्राको सटहीदरमा हालसम्मकै उच्च हो । यसअघि माघ २२ गते अमेरिकी डलरको भाउ १३९.८० रुपैयाँ पुगेको थियो। त्यस्तै, आजका लागि १ अमेरिकी डलरको खरिददर १३९.६५ रुपैयाँ तोकिएको छ ।

डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर नेपाली मुद्रामा देखिएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको छ । अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

विश्व बजारमा डलरको माग बढेसँगै मूल्य आकाशिएको हो । अमेरिकी डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै असर पर्ने गर्छ । तर, नेपालको अर्थतन्त्र आयातमुखी रहेकाले नकारात्मक असर धेरै पर्ने अर्थविद्हरू बताउँछन् ।

नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ ।

त्यस्तै, डलरको भाउ बढ्ने बित्तिकै आयातित वस्तु, इन्धन लगायतको मूल्य बढ्ने, विदेशी ऋणको साँवा र ब्याजको दायित्व बढ्ने गर्छ । जसले नेपाली अर्थतन्त्रमा नकारात्मक असर पार्छ ।

डलरको भाउ बढ्दा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने सकारात्मक प्रभाव पर्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशतभन्दा कम रहेकाले डलरको भाउ बढ्दा न्यून मात्र लाभ हुन्छ ।

पछिल्लो समय विप्रेषण आप्रवाह र पर्यटक आवगमन भने निरन्तर बढ्दो क्रममा रहेकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । नेपाल आउने पर्यटक बढेसँगै नेपालीमा विदेशी मुद्रा भित्रिने र यसले संचिति बढाउन सहयोग गर्छ ।

त्यस्तै, वैदेशिक रोजगरीमा गएका नेपालीहरूले विदेशी मुद्रामा रेमिट्यान्स पठाउँछन् । डलरको भाउ बढ्दा उनीहरूले नेपाल पठाउने पैसामा पनि वृद्धि हुन्छ । जसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ ।

चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल गर्ने प्रधानमन्त्रीको आश्वासन Read Previous

चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल गर्ने प्रधानमन्त्रीको आश्वासन

हिमालयन लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

हिमालयन लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन