काठमाडौं । नागढुंगा सुरुङ मार्गमा सुरुङ खन्ने काम आउँदो जेठ अन्तिम बाट सुरु हुने भएको छ । यहि कात्तिक ४ गते प्रधानमन्त्री केपी ओलीले नागढुंगा सुरुङ मार्गको शिलन्यास गरेका थिए ।
शिलन्यास भएको २ महिना भित्रमा भवन, कार्यालय, इन्जिनियर बस्ने ठाउँको व्यवस्था भइरहेको नागढुंगा सुरुङ मार्ग आयोजना प्रमुख श्याम खरेलले जानकारी दिए । त्यससँगै सर्भे गर्ने र त्यसको ‘एप्रुभल’को काम भइरहेको उनी बताउँछन् ।
‘अहिले डन्डी, सिमेन्ट कुन प्रयोग गर्ने, त्यसको जाँच गर्ने र नतिजा पठाएर स्विकृत गर्ने काम भइरहेको छ । ४२ महिना मध्ये २ महिना सकियो, अझै ४० महिना बाँकी छ,’ खरेलले चाणक्य पोष्टसँग भने ।
उनका अनुसार सुरुङ खन्ने काम सुरु हुन अझै ५ महिना लाग्ने छ । छैठौं महिनाबाट सुरुङ खन्ने काम सुरु हुने उनले बताए ।
उनले खुरुङ खन्नलाई अत्याधुनिक उपकरहणहरु चाहिने बताए । उक्त सामग्री जापानबाट आयात गरिने र त्यस अघि ‘मास्टर लिस्ट’ बनाउनु पर्ने उनले जानकारी दिए ।
‘हामी सुरुङ बन्ने भन्ने वित्तिकै त्यहाँ सुरुङ खन्न सुरु भयो–भएन मात्र हेर्छौं, त्यो भन्दा अघि त्यसका पूर्वाधारहरु तयार हुनुपर्छ । बाहिरी काम सकिए पछि मात्र सुरुङ खन्ने काम सुरु हुन्छ,’ खरेलले भने ।
त्यस्तै सुरुङ निर्माणका लागि विस्फोटक सामग्री समेत आयात गर्नुपर्ने उनले जानकारी दिए ।
हाल सुरुङ खन्ने बाहेकका कार्य सम्पन्न गर्न ७ देखि ८ अर्ब खर्च लाग्ने छ भने सुरुङ मात्र बनाउनका लागि ६ देखि ७ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।
सो सुरुङ मार्गको लम्बाइ २.६७ किलोमिटर रहेको छ । ठेक्का सम्झौतामा सो सुरुङ मार्ग निर्माणका लागि १३ अर्ब ५० करोड लाग्ने उल्लेख गरिएको छ ।
जापान सरकारले ४० वर्ष भित्र तिर्ने गरी सो सुरुङ मार्गका लागि ०.०१ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो ।