कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर विस्तारको जिम्मा टेलिकमलाइ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल ब्याकबोन नेटवर्क परियोजना विस्तारको जिम्मा औपचारिक रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई दिएको छ । गत शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच यी दुई प्रदेशमा यो परियोजना अगाडी बढाउन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सम्झौता भएको २ वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशमा विस्तार गरिसक्ने बताएका छन् । उनका अनुसार, सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, अछाम, बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डँडेलधुरा, बैतडी, दार्चुला गरी २० जिल्ला छुनेगरी करीब २ हजार ४०० किलोमीटरमा अन्डरग्राउन्ड र एडीएसएस फाइबर बिस्तार गर्ने निर्णय भएको हो ।

 

प्राधिकरणका अनुसार रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म २० जिल्ला छुने गरी नेपाल टेलिकमले फाइबर बिछ्याउनु पर्नेछ । यसअघि सो परियोजनाको जिम्मा पाएको स्मार्ट टेलिकमले कुनै काम नगरेपछि सरकारले स्मार्टको ठेक्का रद्द गरेको थियो । प्राधिकरणले स्मार्ट टेलिकमलाई ३ अर्ब ८१ करोड रुपैयाँमा सो ठेक्का दिएको थियो । त्यस्तै, प्राधिकरणका अनुसार टेलिकमसँगको पछिल्लो ठेक्काले परियोजनाको लागत बढ्ने सम्भावना रहेको छ ।

 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कर्णाली र सुदूरपश्चिम प्रदेशमा फाइबर विस्तार गर्न भौगोलिक रुपमा कठिन भएपनि डिजिटल नेपालको आधारस्तम्भको रुपमा काम गरिरहेको हुँदा यसअघिका अन्य ठेक्काजस्तै टेलिकमले यो कार्य पनि समयमा सम्पन्न गर्ने विश्वास लिएको बताए ।

 

प्राधिकरणले कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल ब्याकबोन नेटवर्क विस्तार गर्न २०७४ साउन ३ गते स्मार्ट टेलिकमसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७६ साउनसम्ममा स्मार्टले काम सम्पन्न गर्नुपर्ने थियो । तर, सो अवधिमा पनि प्रगति अत्यन्त निराशाजनक भएपछि प्राधिकरणले थप ३ महीना अर्थात् असोज मसान्तसम्मको समय थप गरेको थियो । समय थप गर्दा पनि काम अगाडि नबढाएपछि प्राधिकरणले उक्त परियोजना रद्द गरी टेलिकमलाई दिएका हो ।

 

मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्गमा न्यूनतम ९६ करोड रुपैयाँको फाइबर बिस्तार हुनेछ । सदरमुकामहरु र नगरपालिकासम्म क्रमशः ४८ र २४ कोरको अप्टिकल फाइबर राखिनेछ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले डिजिटल नेपालको परिकल्पना र सबै स्थानीय निकायमा उच्च गतिको इन्टरनेट पु¥याउने लक्ष्यका साथ सूचना महामार्ग सम्पन्न गर्न नेटवर्क बिस्तार गर्न दृढ रहेको बताए ।

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त Read Previous

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त

२०७७ जेठ अन्तिमबाट नागढुंगा सुरुङ खन्ने काम सुरु हुने Read Next

२०७७ जेठ अन्तिमबाट नागढुंगा सुरुङ खन्ने काम सुरु हुने