
काठमाडौं । विगतमा ‘ब्लुचिप’ रहेका स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैंक नेपाल राष्ट्र बैंकले पूँजी वृद्धिको भारी बोकाएपछि खस्किएका थिए । तर, पछिल्लो २/३ वर्ष यता यी बैंकले फेरि आफूलाई क्रमशः पुरानै लयमा फर्काउन थालेका छन् ।
अर्थात् आफूलाई पूँजी वृद्धि अघिकै जस्तो बलियो र अब्बल बनाउँदै लगेका छन् । तुलनात्मक रूपमा पूँजी आकारमा साना भए पनि यी बैंकको प्रगति लोभलाग्दो छ । थोरै पूँजीमा पनि राम्रो व्यावसायिक ‘ग्रोथ’ गरेका छन् । पूँजी आकारमा आफूभन्दा दोब्बर ठूला बैंकसँग प्रतिस्पर्धा गरिहरेका छन् ।
प्रतिकूल अवस्थामा पनि यी बैंकले लगानीकर्तालाई निरन्तर प्रतिफल दिँदै आएका छन् । पूँजी वृद्धि अघि बम्पर लाभांश दिँदै आएका यी बैंकहरूले पूँजी वृद्धिपछि भने लाभांशदर ह्वात्तै घटेको थियो । तर, अहिले यी दुवै बैंक सर्वाधिक लाभांश दिने बैंकमा पर्छन् । पुससम्म वाणिज्य बैंकमध्ये यी बैंकको लाभांश क्षमता सबैभन्दा धेरै छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा बैंकहरूले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन हेर्दा यी दुई बैंक अन्य बैंकभन्दा निकै बलिया देखिएका छन् । खुद नाफा, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी, जगेडा कोष, नेटवर्थ, खराब कर्जा लगायत सूचकमा अरू बैंकभन्दा अब्बल छन् ।
सेयर लगानीकर्ताको पहिलो रोजाइमा पर्न सफल यी दुई बैंक बीच चालु वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणका आधारमा यहाँ तुलना गरेका छौं ।
चुक्ता पूँजी : तुलनात्मक रूपमा एभरेष्ट र चार्टर्ड दुवै कम पूँजी हुने बैंकमा पर्दछन् । २० वटा वाणिज्य बैंकमध्ये चार्टर्ड सबैभन्दा कम चुक्ता पूँजी हुने बैंक हो भने एभरेष्ट दोस्रो थोरै पूँजी भएको बैंक हो ।
यी दुई मध्ये चुक्ता पूँजीका आधारमा एभरेष्ट बैंक अगाडि रहेको छ । पुस मसान्तसम्म एभरेष्टको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ छ भने चार्टर्डको १० अर्ब ४ करोड २३ लाख रुपैयाँ छ ।
जगेडा कोष : जगेडा कोषका आधारमा दुवै बैंक बलियो स्थितिमा छन् । एभरेष्टको जगेडा कोष चुक्ता पूँजीभन्दा पनि धेरै छ भने चार्टर्डको थोरै मात्र कम छ । एभरेष्टको रिजर्भ एण्ड सरप्लसमा कुल १६ अर्ब २८ करोड रुपैयाँ संचित छ । जसमा जगेडा कोषमा १३ अर्ब ३२ करोड, सेयर प्रिमियम कोषमा २३ करोड ६४ लाख र रिटेन्ड अर्निङमा २ अर्ब ११ करोड रुपैयाँ छ ।
त्यस्तै, चार्टर्डको कुल जगेडा कोषको आकार १० अर्ब ३४ करोड रुपैयाँको छ । जसमा जगेडा कोषमा ९ अर्ब २० करोड र रिटेन्ड अर्निङमा १ अर्ब १३ करोड रुपैयाँ संचित छ ।
खुद नाफा : खुद नाफा एभरेष्ट बैंकको धेरै छ । पुस मसान्तसम्म एभरेष्टले २ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सोही अवधिमा चार्टर्डले १ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा एभरेष्टले चार्टर्डकोभन्दा ४३ करोड रुपैयाँ धेरै नाफा कमाएको छ । समीक्षा अवधिमा एभरेष्टको नाफा २१.११ प्रतिशतले बढेको छ भने चार्टर्डको ४.९७ प्रतिशतले घटेको छ ।
निक्षेप र कर्जा लगानी : व्यवसायमा एभरेष्ट चार्टर्डभन्दा निकै अगाडि रहेको छ । पुससम्म एभरेष्ट बैंकले कुल २ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यो चार्टर्डकोभन्दा १ खर्ब २८ अर्ब रुपैयाँ बढी हो । सोही अवधिमा चार्टर्डको कुल निक्षेप १ खर्ब २२ अर्ब रुपैयाँ मात्र छ ।
कर्जा लगानीमा पनि एभरेष्ट निकै अगाडि छ । समीक्षा अवधिमा एभरेष्टले २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने चार्टर्डले ७८ अर्ब १७ करोड ऋण लगानी गरेको छ । यो वाणिज्य बैंकहरूमा सबैभन्दा कम हो ।
वितरण योग्य नाफा : समीक्षा अवधिमा सेयरधनीललाई दिन सक्ने लाभांश क्षमता एभरेष्टको धेरै छ । पुससम्म एभरेष्टको वितरण योग्य नाफा २ अर्ब ७ करोड रुपैयाँ छ । जसबाट ३०.५८ प्रतिशत लाभांश दिनसक्छ । त्यस्तै, यस अवधिमा चार्टर्डको वितरण योग्य नाफा १ अर्ब १३ करोड रुपैयाँ छ । जसबाट २३.५५ प्रतिशत लाभांश बाँड्न सक्छ । पुससम्म ७ बैंकको रिटेन्ड अर्निङ ऋणात्मक छ । तर, यी बैंक भने तुलनात्मक रूपमा बलिया देखिएका छन् ।
प्रतिसेयर आम्दानी : सेयर लगानीकर्ताले प्राथमिकताका साथ हेर्ने प्रतिसेयर आम्दानीमा चार्टर्ड थोरै अघि छ । चार्टर्डको प्रतिसेयर आम्दानी ३२.६७ रुपैयाँ रहेको छ । यो वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै हो । समीक्षा अवधिमा एभरेष्टको प्रतिसेयर आम्दानी ३२.०६ रुपैयाँ छ । एभरेष्ट दोस्रो धेरै ईपीएस हुने बैंक हो ।
प्रतिसेयर नेटवर्थ : प्रतिसेयर नेटवर्थमा एभरेष्ट अगाडि छ । समीक्षा अवधिमा एभरेष्टको प्रतिसेयर नेटवर्थ २२५.७९ रुपैयाँ छ भने चार्टर्डको २०२.९७ रुपैयाँ छ ।
बेसरेट : आधारदर चार्टर्डको सस्तो रहेको छ । एभरेष्टले भन्दा चार्टर्डले सस्तोमा ऋण दिन सक्छ । समीक्षा अवधिमा चार्डको बेसरेट सबैभन्दा कम ५.१३ प्रतिशत छ । एभरेष्टको ५.६६ प्रतिशत छ ।
खराब कर्जा : ऋण असुलीमा एभरेष्ट बैंक अब्बल देखिएको छ । समीक्षा अवधिमा एभरेष्टको खराब कर्जा ०.६६ प्रतिशत मात्र छ । यो २० वाणिज्य बैंक मध्ये सबैभन्दा कम हो । पुसमा १९ बैंकको खराब कर्जा बढ्दा एभरेष्टले मात्र घटाउन सफल भएको छ । एभरेष्टको तुलनामा चार्टर्डको खराब कर्जा साढे दुई गुणा धेरै छ । पुससम्म चार्टर्डको खराब कर्जा १.७१ प्रतिशत छ । यद्यपि, अन्य बैंकको तुलनामा यो पनि निकै कम हो ।
लाभांश इतिहास : सेयरधनीमा प्रतिफल दिनेमा दुवै बैंक अब्बल छन् । पूँजी वृद्धि र कोभिडपछि आएको आर्थिक शिथिलताका कारण केही वाणिज्य बैंकहरूले लगातार ३ वर्षसम्म सेयरधनीलाई रित्तो हात बनाएका थिए । तर, यी दुई बैंकले पछिल्लो १० वर्ष यता हरेक वर्ष लाभांश दिँदै आएका छन् ।
सेयरधनीलाई प्रतिफल दिनेमा चार्टर्ड एभरेष्टभन्दा धेरै अगाडि रहेको छ । पछिल्लो १० वर्षमा चार्टर्डले ३१०.४६ प्रतिशत लाभांश दिएको छ भने एभरेष्टले २६७.५८ प्रतिशत लाभांश दिएको छ ।
सेयर मूल्य : सेयर मूल्यका आधारमा यी दुवै बैंक सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक हुन् । सूचीकृत १९ बैंक मध्ये यी दुईको मात्र सेयर मूल्य ६०० रुपैयाँ माथि छ । चार्टर्डको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६८३.९० रुपैयाँ र एभरेष्टको ६०७ रुपैयाँ छ ।
निष्कर्ष : ठूला पूँजी भएका बैंकका तुलनामा यी दुवै बैंकको प्रगति सन्तोषजनक छ । सेयर संख्या एभरेष्टकोभन्दा चार्टर्डको कम भए पनि अन्य सूचकमा एभरेष्ट अघि छ । चुक्ता पूँजी, निक्षेप, कर्जा, रिजर्भ कोष लगायत सूचकमा एभरेष्ट अघि छ भने कष्ट अफ फण्ड, बेसरेट, प्रतिसेयर आम्दानी लगायत सूचकमा चार्टर्ड अघि छ ।
समग्र वित्तीय सूचकमा आधारमा चार्टर्डभन्दा एभरेष्ट नै बलियो देखिएको छ । तुलनात्मक रूपमा दुवै बैंक बलिया र लगानीकर्ताको आकर्षण रहेकाले सेयर बजारमा कसले लिड गर्ला यसै भन्न सक्ने अवस्था छैन । त्यो भने भविष्यले नै देखाउने छ ।