काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले पहिलो चरणमा माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनको शाखा कार्यालयहरूका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा कम्प्नीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।
नेपाल माइक्रो आइपीओ बिक्री गर्ने दोस्रो लघुबीमा कम्पनी हो । यसअघि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ बिक्री गरेको थियो ।