मर्जरपछि ग्लोबल र जनतामध्ये कुन बैंकका सेयरधनीलाई फाइदा, यस्तो छ नयाँ मूल्य

काठमाडौं । जनता बैंकसँगको मर्जर पश्चात् विभिन्न सूचकहरुको आधारमा देशकै ठूलो बैंक बनेको ग्लोबल आइएमई बैंकको सेयर मूल्य २३७ रुपैयाँ प्रति कित्ता कायम भएको छ । दुई बैंकको संयुक्त कारोबार २०७६ मंसिर २० गतेबाट सुरु भइसकेको छ । यद्यपि बैंकको सेयर कारोबार भने सुचारु भएको छैन । बैंकका अधिकारीहरुका अनुसार बैंकको सेयर नेप्सेमा सूचीकृत भएको छैन, यो महिनाको अन्त्यसम्ममा हुने संभावना रहेको छ ।

 

जनता बैंकलाई १ः०.८५ को अनुपातमा आफूमा मर्ज गराएको ग्लोबलले त्यो भन्दा पहिले हाथवे फाइनान्सलाइ भने १ः०.४२ मा प्राप्ति गरेको थियो ।बैंकको सेयर मूल्य भने मर्ज भएका संस्थाहरुको भारित बजार पूँजीकरणका आधारमा तय गरिएको बैंकले जनाएको छ ।

 

ग्लोबल आइएमई बैंक र जनता बैंकको अन्तिम कारोबार मूल्य क्रमशः २९५ र २१४ रुपैयाँ प्रति सेयर थियो भने हाथवे फाइनान्सको अन्तिम कारोबार मूल्य ११६ रुपैयाँ थियो ।

 

हाथवेलाई प्राप्ति गर्नु अघि ग्लोबल आइएमई बैंकको १० करोड ३१ लाख ५ हजार १ सय ६० कित्ता सेयर सूचीकृत थियो । अन्तिम कारोबार मूल्य प्रति सेयर २९५ रुपैयाँ भएको बैंकको अन्तिम दिन कुल बजार पूँजीकरण ३० अर्ब ४१ करोड ६० लाख २२ हजार २ सय रुपैयाँ थियो ।

 

यसैगरी ३० लाख कित्ता सेयर सूचीकृत भएको हाथवेको अन्तिम कारोबार मूल्य प्रति सेयर १ सय १६ रुपैयाँ थियो । यो हिसाबले हाथवेको अन्तिम कारोबार दिनमा कुल बजार पूँजीकरण ३४ करोड ८० लाख रुपैयाँ थियो ।

 

यी दुई संस्था एक–आपसमा १ः०.४२ अनुपातमा गाभिएपछि बनेको ग्लोबल आइएमई बैंकको कुल बजार पूँजीकरण ३० अर्ब ५६ करोड २१ लाख ८२ हजार २ सय रुपैयाँ भएको थियो भने कुल सेयर संख्या १० करोड ४३ लाख ६५ हजार १ सय ६० कित्ता कायम भएको थियो भने भारित बजार पूँजीकरणको आधारमा प्रति कित्ता सेयर मूल्य २९३ रुपैयाँ कायम गरिएको थियो ।

 

त्यसपछि भने बैंकले जनता बैंकसँग मर्जर गरेको थियो । जनता बैंकको अन्तिम दिनको कारोबार मूल्य २१४ रुपैयाँ प्रति कित्ता थियो भने ८ करोड ७ हजार ८ सय ६० कित्ता सेयर सूचीकृत भएको थियो । यो हिसाबले जनता बैंकको कुल बजार पूँजीकरण १७ अर्ब १२ करोड १६ लाख ८२ हजार ४० रुपैयाँ थियो ।

 

यसैबीच दुवै बैंकले बोनस सेयर पनि जारी गरे र बोनस सेयर पश्चात् उनीहरुको सेयर मूल्य क्रमशः २६० र २०२ रुपैयाँ प्रति कित्ता कायम भएको थियो । ग्लोबल आइएमईले गत वर्षको नाफाबाट १२.७५ प्रतिशत र जनता बैंकले ६ प्रतिशत बोनस सेयर घोषणा गरेका थिए ।

 

त्यसपछि दुवै बैंकको कायम हुन गएको कुल बजार पूँजीकरणको भारित औसतका आधारमा नयाँ र संयुक्त रुपमा बनेको ग्लोबल आइएमई बैंकको सेयर मूल्य २३७ रुपैयाँ प्रति कित्ता कायम हुन गएको हो ।

रौतहटको सन्तपुरमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा Read Previous

रौतहटको सन्तपुरमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त Read Next

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त