काठमाडौं । क्यानडाले पनि अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशतसम्म ट्यारिफ (शुल्क) लगाएको छ ।
अमेरिकाले फेब्रुअरी १ देखि लागू हुने गरी क्यानाडाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाएसँगै क्यानाडाले पनि जवाफमा अमेरिकी वस्तुमा पनि २५ प्रतिशत कर लगाएको हो ।
क्यानडाका कार्यवाहक प्रधानमन्त्री जस्टिन ट्रुडोले १५५ अर्ब डलर बराबरको अमेरिकी आयातमा २५ प्रतिशत ट्यारिफल लगाउने घोषणा गरेका हुन् ।
अमेरिकाले क्यानडाबाट आयात हुने प्राकृतिक ग्यास र बिजुलीसहितका ऊर्जामा भने १० प्रतिशत मात्र शुल्क लगाउने निर्णय गरेको छ ।
क्यानडाका कार्यवाहक प्रधानमन्त्री ट्रुडोले अमेरिकाको ट्यारिफ सामना गर्न तयार रहेको बताएका छन् । उनले अमेरिकाको यो निर्णयले अमेरिकी नागरिकलाई नै असर गर्ने पनि बताएका छन् ।
उनले प्रेस ब्रिफिङमा भनेका छन्, ‘हामी यस्तो चाहँदैनथ्यौं । ट्यारिफले केही वर्ष अगाडि भएको मुक्त व्यापार सम्झौताको उल्लंघन गर्दछ । तर यसको सामना गर्न क्यानडा तयार छ ।’
अमेरिका क्यानडाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । क्यानडाले अमेरिकाबाट मुख्य गरी मोटरगाडी, पार्टपुर्जा, मेसिनरी उपकरण, तेल तथा ग्यास, औषधि तथा मेडिकल उपकरण, कृषि उत्पादन, प्लास्टिकका सामग्री लगायत सामग्री आयात गर्छ ।