काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ ।
निगम शुक्रबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाएको हो ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ तोकिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।
यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार ३ अमेरिकी डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखेको छ ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १.५९ रुपैयाँ, डिजेलमा ३.५७ रुपैयाँ तथा हवाई इनधनमा ५.७० रुपैयाँले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।