काठमाडौं । ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा आंशिक लगानी जुटेको छ ।
कुमारी बैंकको नेतृत्वमा ४ वटा वाणिज्य बैंकले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको हो ।
आयोजनामा कुमारी बैंक, प्रभु बैंक, कृषि विकास बैंक र सिदार्थ बैंकले ऋण लगानी गर्ने भएका हुन् । सम्झौता अनुसार आयोजनामा कुमारीले ४ अर्ब, प्रभुले ३ अर्ब, सिद्धार्थले २ अर्ब र कृषि विकासले १.५ अर्ब रुपैयाँ लगानी गर्नेछन् । अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि लगानी गर्ने गरी छिट्टै सम्झौता हुने एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्यले बताए ।
आयोजना निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी लगानी हुने जनाइएको छ।
आयोजना गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका हुँदै बग्ने मर्स्याङ्दी नदीमा निर्माण हुने छ ।
आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० कात्तिक १ मा विद्युत् खरिद बिक्री सम्झौता भएको थियो । २०८६ वैशाख २२ मा व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिसक्नुपर्ने कम्पनीले जनाएको छ। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), विस्तृत इजानियरिङ डिजाइन तथा ठेक्कासम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदन स्वीकृतिका लागि वातावरण मन्त्रालयमा पेस भएको छ । आयोजनाबाट उत्पादित विद्युत् गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सबस्टेसनमा जोडिने छ।