विश्व तरंगित बनाउने ‘डीपसीक’ के हो ? यसकारण आँत्तिए अमेरिकी कम्पनी

काठमाडौं ।  चिनियाँ कृत्रिम बुद्धिमत्तामा आधारित च्याटबोट ‘डीपसीक’ एपल प्रयोगकर्ताहरूमाझ छोटो समयमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई अमेरिकी प्रविधि कम्पनीहरूका लागि ‘जागा हुने घण्टी’ भनेका छन्।

यही जनवरीमा केही हप्ताअघि अमेरिकामा सार्वजनिक भएको यो एपले अमेरिकी प्रविधि कम्पनीहरूको शेअर बजारमा भारी गिरावटको कारण बनेको छ। यो एपको अचानक बढेको लोकप्रियता र अमेरिकी एआइ कम्पनीहरूको तुलनामा यसको न्यून लागतका कारण अमेरिकी अर्थतन्त्रमा चिन्ता पैदा हुन पुगेको छ।

सिलिकन भ्यालीका मार्क एन्ड्रीसनले डीपसीकलाई एआइमा ‘सबैभन्दा गज्जबको र प्रभावशाली प्रगति’ भनेका छन्। यो एआइ एप विकास गर्ने कम्पनीका अनुसार डीपसीकका पछिल्ला एआइ मोड्युलहरूबाट यो क्षेत्रमा अग्रणी मानिएका अमेरिकी कम्पनीहरूले निर्माण गरेका च्याट जीपीटी जत्तिकै प्रभावकारी सुविधा निकै कम खर्चमा नै लिन सकिन्छ।

यो एप विकासमा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार यसको विकासका लागि जम्मा ६० लाख अमेरिकी डलर मात्रै खर्च भएको थियो। यो रकम अमेरिकी एआइ कम्पनीहरूले खर्च गरेको अर्बौँ डलरको तुलनामा निकै कम हो।

डीपसीक के हो?

डीपसीक चीनको दक्षिणपूर्वी सहर हान्जाउमा स्थापित चिनियाँ ‘आर्टिफिशल इन्टेलिजेन्स’ कम्पनी हो। यो कम्पनी सन् २०२३को जुलाईमा घोषणा भएको थियो। तर यसको लोकप्रिय एआइ एसिस्टेन्ट एप अमेरिकामा १० ज्यानुअरीसम्म सार्वजनिक नगरिएको ‘सेन्सर टावर’ले जनाएको छ।

डीपसीकका संस्थापक को हुन्?

लियाङ वेनफङले आफैले सञ्चालन गरेको ‘हेज फन्ड’ अर्थात् मानिसहरूले लगानीका लागि जम्मा गरिदिएको पैसाको समेत प्रयोग गरेर डीपसीक स्थापना गरेका थिए। इन्फरमेसन र इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक गरेका ४० वर्ने लियाङले हाल चीन निर्यातमा प्रतिबन्ध लागेको एनभिडिआ ए१०० चिप्सहरूको एउटा भण्डार नै बनाएको बताइएको छ।

विज्ञहरूले उनको संग्रहमा रहेका अनुमानित ५०,००० थान चिप्सहरूलाई अन्य झन सस्तो मूल्यमा पाइने र आयातका लागि उपलब्ध अन्य उपकरणहरूको सहायतमा जोडेर उनले ‘डीपसीक’ विकास गरेको ठानेका छन्। लियाङ हालै चिनियाँ प्रधानमन्त्री लि चियाङले आयोजना गरेको उद्यम विज्ञहरूसँगको बैठकमा देखिएका थिए।

कसले गर्दै छ यसको प्रयोग?

यो कम्पनीको एआइ एप एपलको एप स्टोरमा र कम्पनीको वेबसाइटमार्फत् अनलाइन डाउनलोड गर्न सकिन्छ। निःशुल्क पाइने यो एप एपलको स्टोरमा छोटो समयमै सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ। यद्यपि केही प्रयोगकर्ताहरूले यसमा आफ्नो खाता खोल्न समस्या भएको उल्लेख गरेका छन्। यो अमेरिकामा एपलको एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न पाइने एपहरूमध्ये सबैभन्दा धेरै रेटिङ पाउने एप पनि बनेको छ।

यो एपले के गर्छ?

डीपसीक आफ्नो शक्तिशाली एआइ एसिस्टेन्टका कारण लोकप्रिय बनेको छ र यो च्याट जीपीटी जस्तै गरी सञ्चालन हुन्छ। एप स्टोरमा उल्लेखित विवरण अनुसार यसलाई मानिसहरूका ‘प्रश्नहरूको जवाफ दिन र प्रभावकारी रूपमा जीवन सहज बनाउन’ डिजाइन गरिएको छ।

प्रयोगकर्ताहरूले रेटिङका क्रममा गरेका टिप्पणीमा यसले ‘लेखन शैलीमा निखार थप्ने’ उल्लेख छ। तर, यो च्याटबोटले राजनीतिक रूपमा संवेदनशील एउटा प्रश्नको जबाफ दिँदैन।

बीबीसीले सन् १९८९ को जुन ४ मा चीनको तियानआनमेन स्क्वायरमा के भएको थियो भनेर सोधेको प्रश्नमा डीपसीकको जबाफ थियो, ‘मलाई माफ गर्नुहोला। त्यो प्रश्नको म जबाफ दिन सक्दिनँ। म सहयोगी र हानी रहित जबाफ दिनका लागि डिजाइन गरिएको एआइ एसिस्टेन्ट हो।’

यसले एनभिडिआ जस्ता अमेरिकी कम्पनीलाई किन असर गरिरहेको छ?

अमेरिकी प्रतिस्पर्धीहरू भन्दा दशौँ लाख डलर कम खर्चमा बनेको भनिएको डीपसीकले एआइमा अमेरिकी दबदबा भविष्यबारे प्रश्न उब्जाएको छ। डीपसीकको उदयसँगै अमेरिकी चिप कम्पनी एभिडिआको शेअर मूल्य १७ प्रतिशतले घटेको छ। अमेरिकी कम्पनी एनभिडिआले एआइमा प्रयोग हुने शक्तिशाली चिप्सहरू बनाउँछ। डीपसीकको असर सबैभन्दा धेरै यो कम्पनीमा पर्ने देखिएको छ।

यसले सोमबार मात्रै आफ्नो बजार मूल्यको करिब ६०० अर्ब अमेरिकी डलर गुमायो। यो कुनै पनि अमेरिकी कम्पनीले देशको इतिहासमा एकै दिन गुमाएको सबैभन्दा ठूलो रकम भएको बताइएको छ।

एनभिडिआ बजार पूँजीकरणका दृष्टिले विश्वमै सबैभन्दा मूल्यवान् कम्पनी बनेको थियो। तर सोमबार यो एपल र माइक्रोसफ्ट भन्दा पछाडि पुगेको फोर्ब्सले जनाएको छ।डीपसीकले एनभिडिआले बनाएको भन्दा कम-उन्नत प्रकारका सेमिकन्डक्टर चिप्सहरूको प्रयोग गर्छ।

यद्यपि यसको सफलताले ठूलो बजेट र उच्चकोटीका चिप्सहरू मात्रै एआइलाई अघि बढाउने उपाय हुन् भन्ने बुझाइको खण्डन गरेको छ। यसले उच्चक्षमता भएका चिपहरूको भविष्य र आवश्यकताबारे पनि अनिश्चय पैदा गरेको छ।-बीबीसी

 

करदाताको संख्या ७० लाख नाघ्यो, व्यक्तिगत प्यान लिने साढे ४५ लाख पुगे Read Previous

करदाताको संख्या ७० लाख नाघ्यो, व्यक्तिगत प्यान लिने साढे ४५ लाख पुगे

ग्लोबल आइएमई लघुवित्तको नाफा १४७% बढ्यो, ईपीएस ३८ रुपैयाँ Read Next

ग्लोबल आइएमई लघुवित्तको नाफा १४७% बढ्यो, ईपीएस ३८ रुपैयाँ