काठमाडौं । नेपालमा करदाताको संख्या ७० लाख नाघेको छ । आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म कुल करदाता (व्यक्ति तथा फर्म)को संख्या ७० लाख ३६ हजार ६८३ जना रहेका हुन् ।
विभागका अनुसार करदातामध्ये सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या छ । पुससम्म ४५ लाख ४८ हजार ३२३ जनाले व्यक्तिगत प्यान लिएका छन् । पारिश्रमिक तथा तलब भुक्तानीमा प्यान अनिवार्य भएसँगै यो लिनेको संख्या पनि बढेको हो ।
त्यस्तै, पुससम्म १९ लाख ९३ हजार ७२४ जनाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् ।त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता संख्या ३ लाख ३८ हजार ३१६ पुगेको छ ।
अन्तःशुल्क इजाजततर्फ १ लाख २१ हजार ६८२ करदाता दर्ता भएको विभागले जनाएको छ । विथहोल्डर स्थायी लेखा नम्बर लिने करदाता भने ३४ हजार ६३८ पुगेको छ ।