
काठमाडौं । जीवन बीमालेख समपर्ण (पोलिसी सरेन्डर) अत्यासलाग्दो रुपमा बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (साउन–पुस)मा मात्रै झण्डै साढे ७ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पुस मसान्तसम्म १४ जीवन बीमा कम्पनीका बीमितले ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरी रकम फिर्ता लगेका छन् । यस अवधिमा कुल ५४ हजार ४१४ वटा पोलिसी पोलिसी सरेन्डर भएका हुन् ।
चालु आवमा भएको पोलिसी सरेन्डर बीमा कम्पनीहरूले यही अवधिमा गरेको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क)को ४६.२७ प्रतिशत रकम बराबर हो । चालु आवको ६ महिनामा जीवन बीमा कम्पनीहरूले १६ अर्ब १२ करोड रुपैयाँ प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन छन् । जबकि यही अवधिमा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो ।
गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवमा पोलिसी सरेन्डर १४.०१ प्रतिशतले बढेको छ । गत वर्ष पुससम्म ६ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको थियो । समीक्षा अवधिमा ९२ करोड रुपैयाँ धेरैको पोलिसीको सरेन्डर भएको हो । गत वर्ष ५३ हजार ११३ वटा पोलिसी सरेन्डर भएका थिए ।
बीमितहरूले नियमित प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर गर्न थालेका हुन् । पोलिसी सरेन्डर घटाउन नियामक निकाय र बीमा कम्पनीहरूले प्रयास गरे पनि रोकिन सकेको छैनन् । नयाँ व्यवसाय विस्तार सुस्त भइरहँदा पुराना पोलिसी पनि धमाधम सरेन्डर हुन थालेपछि जीवन बीमा कम्पनीहरूको व्यवसायमै धक्का पर्न थालेको छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो ।
अर्थतन्त्रमा आएको मन्दीको असर बीमा व्यवसायमा देखिएको बीमा व्यवसायीहरू बताउँछन् । आम्दानी नहुँदा बीमितले समयमै बीमा शुल्क तिर्न नसक्दा सरेन्डरको समस्या देखिएको उनीहरूको भनाइ छ ।
आर्थिक मन्दीका कारण मानिसको आम्दानी खुम्चिँदा नियमित प्रिमियम तिर्न सकेका छैनन् । विगतमा नियमित रूपमा प्रिमियम तिर्दै आएका बीमितहरूले अहिले प्रिमियम तिर्न नसकेपछि धमाधम पोलिसी सरेन्डर गर्न थालेका हुन् । ऋण खोजेर प्रिमियम तिर्नुभन्दा संकटको बेलामा पोलिसी सरेन्डर गरेर भएको पैसा निकाल्नु नै उपयुक्त हुने बीमितको बुझाइ देखिन्छ । जसले पोलिसी सरेन्डर झनै बढाएको बीमकहरू बताउँछन् ।
त्यस्तै, पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्याले पनि बीमा व्यवसाय प्रभावित भएको देखिन्छ । सहकारीमा पैसा राखेका हरूले ब्इाज र आफ्नो पैसा फिर्ता नपाउँदा पनि बीमितले प्रिमियम तिर्न नसकेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अधिकारीहरू भने अभिकर्ताले कमिसनको लागि जथाभावी बीमितलाई पोलिसी थमाउँदा पनि सरेन्डरको क्रम बढेको बताउँछन् । त्यस्तै, एउटा कम्पनीमा काम गरिरहेको एजेन्ट कमिसनको लोभमा अर्को कम्पनीमा जानले पनि पोलिसी सरेन्डर बढेको उनीहरूको भनाइ छ ।
बीमा दाबी भुक्तानीमा हुने ढिलाइ र बीमा कम्पनीहरू प्रति घट्दो विश्वासका कारण पनि पोलिसी सरेन्डर बढ्दै गएको बीमा क्षेत्रका जानकारहरू बताउँछन् ।
कुनको कति पोलिसी सरेन्डर ?
पोलिसी सरेन्डरदर नयाँभन्दा पुराना कम्पनीको धेरै देखिएको छ । तुलनात्मक रुपमा नयाँ सन नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायल नेपाल लाइफ, आईएमई लाइफलगायतको सरेन्डर दर कम रहेको देखिन्छ ।
चालु वर्षको ६ महिनामा सबैभन्दा ठूलो धक्का लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाललाई लागेको छ । यस अवधिमा एलआइसीका १३ हजार ९६८ बीमितले पोलिसी सेन्डर गरेका छन् । उनीहरूले २ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । यो कुल सरेन्डरको ३१.९५ प्रतिशत हो । चालु आवको ६ महिनामा एलआइसीले १ अर्ब ३३ करोड रुपैयाँ मात्रै प्रथम बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको पनि २ अर्ब २ करोड ३३ लाख रुपैयाँ बराबरको १२ हजार २४१ वटा पोलिसी सरेन्डर भएको छ ।
यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको ६७ करोड ७ लाख रुपैयाँ बराबरको ७ हजार २०७ वटा, नेशनल लाइफको साढे ४६ करोडको ३ हजार १०४ वटा, एशियन लाइफको ४६ करोड ८१ लाख रुपैयाँको ४ हजार ४०५ वटा, सूर्यज्योति लाइफको ३८ करोड ९४ लाख रुपैयाँको २ हजार ९०४ वटा र हिमालयन लाइफको ३३ करोड २३ लाख रुपैयाँ बराबरको ३ हजार ५९० वटा पोलिसी सरेन्डर भएका छन् ।
त्यसैगरी, मेट लाइफको १९ करोड ६६ लाखको १ हजार ७९४ वटा, आइएमई लाइफको ९ करोड ८६ लाखको ९०८ वटा, रिलायबल नेपाल लाइफको साढे ५ करोडको ८६३ वटा, सिटिजन लाइफको साढे ११ करोडको १ हजार ३८८ वटा, सानिमा रिलायन्स लाइफको १३ करोड बढीको ९४२ वटा, हिमालयन लाइफको १८ करोडको २ हजार १४ वटा र प्रभु लाइफको ९ करोड ८२ लाखको ७३० वटा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांक छ ।
६ महिनामा सबैभन्दा कम पोलिसी सरेन्डर सन नेपाल लाइफका बीमितले गरेका छन् । यसका ३६१ बीमितले ३ करोड ५२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका हुन् ।