म्याग्दीबाट साढे ३३ करोडको सुन्तला बिक्री

बेनी (म्याग्दी) । म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा ३३ करोड ४६ लाख रुपैयाँको सुन्तला बिक्री भसकेको छ ।

उनका अनुसार, कार्यालयले क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अध्ययन गरेको थियो । यस वर्ष जिल्लाका छवटै स्थानीय तहमा ४ हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष ३ हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियोभने सुन्तला बिक्रीबाट २४ करोड रुपैयाँ भित्रिएको थियो ।

जिल्लामा ८२० हेक्टर जमिनमा सुन्तलाखेती हुँदै आएकामा ४२५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । बेनी नगरपालिका–३ र ४ नम्बर वडाबाट मात्र ६ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको केन्द्रले जनाएको छ ।

जिल्लाका अधिकांश ठाउँका सुन्तला बोटबाटै बिक्री भइसकेको छ । अहिले बेनी नगरपालिकाको मरेक, अन्नपूर्ण गाउँपालिकाको दोसल्लेलगायत ठाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ ।

किसानको बगैँचाबाट प्रतिकिलो ६० देखि १२० रुपैयाँ मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन् । दोसल्ले व्यावसायिक सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले गाउँमा उत्पादन भएको सुन्तला धमाधम बिक्री भइरहेको र उत्पादन बढेकाले किसान उत्साहित बनेको बताए।

जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरवा, नारायणगढ लगायत बजारमा निकासी हुँदै आएको छ । रासस

पाथीभरामा केबलकार निर्माणको विरोधमा झडप, ५ घाइते Read Previous

पाथीभरामा केबलकार निर्माणको विरोधमा झडप, ५ घाइते

बीमा पोलिसी सरेन्डर अत्यासलाग्दो, नयाँ व्यवसायको ४६% बराबर रकम फिर्ता Read Next

बीमा पोलिसी सरेन्डर अत्यासलाग्दो, नयाँ व्यवसायको ४६% बराबर रकम फिर्ता