काठमाडौं । प्राय जाडो महिनामा सडक तथा भौतिक निर्माणका काम अलपत्र पर्ने गर्छन् । निर्माण व्यवसायी आफै चिसोमा काम गर्नुनपरे हुन्थ्यो भन्ने चाहन्छन् भने जाडोमा श्रमिकबाट खासै उपलब्धी नआउने भएकाले यसमा सरकारले समेत कुनै कडा नीति ल्याउन सकेको छैन ।
जाडोमा मध्य दिनको समयमा काम हुने गर्छ । यो समयमा मजदुरहरुले ढिला काम सुरु गर्ने गर्छन् र दिन छिटै ढल्ने हुँदा खासै उपलब्धी नहुने निर्माण व्यवसायीहरुको भनाइ छ ।
उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठ नेपालको मौसम नै यस्तो भएकाले कामलाई जाडोमा गति दिन नसकिने बताउँछन् । उनका अनुसार जाडोमा सडक कालोपत्रे गर्दा त्यसका ‘विटल पदार्थ’ (कालोपत्रे गरेपछि रहने पदार्थ) भाँचिने गर्छन् ।
‘कालोपत्रे गर्नका लागि तताएपछि निस्कने नरम पदार्थ (विटल) छिटै सेलाउने हुँदा नरमपना हराउँछ र ‘सरफेस’मा राम्रोसँग बस्दैन र गाडी हिँड्ना साथ भित्रभित्रै माइनर क्रयाक आउँछ,’ श्रेष्ठले चाणक्यपोष्टसँग भने ।
वर्षामा पनि पानीका कारण विटलमा क्रयाक आउने हुँदा त्यो समयमा पनि कालोपत्रेको कामलाई प्राथमिकता नदिइने उनी बताउँछन् ।
कालोपत्रेको काम मात्र नभई जाडोमा अन्य निर्माणका कामहरु समेत कमै हुने गर्छन् । जाडोमा बाहिर काम गर्न श्रमिकले समेत नचाहने भएको र त्यसमा खासै उपलब्धी नहुने हुँदा ठेकेदारले भरसक जाडोमा काम गर्न नचाहने श्रेष्ठले बताए ।
‘जाडोमा चिसोले श्रमिक फिल्डमा ढिलो जान्छन्, त्यसपछि छिटो रात पर्छ र छुट्टी हुन्छ । खासै उपलब्धी देखिदैन । त्यसैले इमरजेन्सी परे मात्र गरिन्छ,’ श्रेष्ठले भने ।उनी जाडोमा खासै उपलब्धी नहुने भएकाले ठेकेदारहरुलाई समेत घाटा हुने बताउँछन् ।
राती काम गर्ने नीति नै छैन
अन्तराष्ट्रिय स्तरमा प्राय सडकका कामहरु राती नै सम्पन्न हुने गर्छन् । दिउँसो काम गर्दा सर्वसाधरणलाई समस्या हुने हुँदा प्राय जसो सडकका काम राती नै हुने गर्छन् ।
रातको समयमा काम गर्नुपर्दा श्रमिकले बढि ज्याला माग्ने गरेको श्रेष्ठ बताउँछन् । साथै राती काम गर्दा आवश्यक विद्युतको समेत उचित व्यवस्था नभएको उनले बताए ।
कुनै पनि ठेक्का लगाउँनु पुर्व लागत तय गरिन्छ । नीति अनुसार लागत निर्धारण गर्दा ढुंगा, बालुवा, सिमेन्ट लगायत सबै निर्माण समग्रीको सम्भावित मूल्यसहित त्यसको लागत तोकिन्छ । जसमा राती काम गर्दाको दोब्बर ज्याला र विद्युतीय खर्च समेत विभाग तथा सम्बन्धित निकायले नै दिनुपर्ने हुन्छ ।
‘राती काम गर्दा श्रमिकको ज्याला दोब्बर हुने र विद्युतीय सामग्रीका लागि समेत रकम विभाग तथा डिभिजन आफैंले दिनुपर्ने हुनाले, यो हामीलाई पनि महंगो पर्छ,’ श्रेष्ठले भने ।
अति आवश्यक र तत्काल हुनुपर्ने निर्माण कामहरुलाई ठेकेदारलाई नै बाध्यकारी व्यवस्था गरेर राती काम गराइन्छ । अन्यथा राती गर्नुपर्छ भन्ने खासै कुनै नीति नभएको उनले बताए ।उनका अनुसार नेपालमा कतिपय कामहरु अति आवश्यक भए मात्र राती गरिदै आएको छ ।