काठमाडौं । पछिल्लो समय नेपालको आयात घट्दो र निर्यात बढ्दो क्रममा रहेको छ । विगत पाँच महिनाको कुरा गर्ने हो भने हालसम्म आयात ४.२४ प्रतिशतमा झरेको छ ।
निर्यात आर्थिक वर्ष २०७५/७६ को तुलनामा २६.९७ प्रतिशतले बढेको देखिन्छ । चालू आर्थिक वर्ष २०७६/७७ मा हालसम्मको व्यापार घाटा झरेर ६.३० प्रतिशतमा पुगेको छ ।
चालू आर्थिक वर्षको पहिलो महिनामा आयात विगतको तुलनामा ८.८७ प्रतिशतले बढेको थियो । सो अवधिमा निर्यात ०.८७ प्रतिशतले बढ्न सुरु भएको थियो । त्यस बेला नेपालको व्यापार घाटा २१.९३ प्रतिशत रहेको तथ्यांकले देखाउँछ ।
यसैगरी चालू आवको दोस्रो महिना भदौबाट भने आयात घट्न थालेको देखिन्छ । भदौमा आयात १.२२ प्रतिशतले घटेको थियो । निर्यात २५.८७ प्रतिशतले बढेको थियो भने व्यापार घाटा ३.०५ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
चालू आवको असोज मसान्तसम्ममा आयात १०.३४ प्रतिशतले घटेको थियो । सो अवधिमा निर्यात १४.४१ प्रतिशतले बढेको देखिन्छ । भन्सारको तथ्यांक अनुसार सो अवधिमा गत वर्षको तुलनामा १२.०२ प्रतिशतले व्यापार घाटा घटेको थियो ।
चालू आवको कार्तिक मसान्तसम्ममा आयात ६.९२ प्रतिशतले घटेको थियो । निर्यात २३.९० प्रतिशतले बढेको भन्सारको तथ्यांकले देखाएको छ । कार्तिकसम्ममा विगतको तुलनामा ८.९० प्रतिशतले व्यापार घाटा घटेको थियो ।
यसैगरी मंसिर मसान्तसम्म आइपुग्दा गत वर्षको तुलनामा आयात ४.२४ प्रतिशतले घटेको छ । सो अवधिसम्ममा निर्यात २६.९७ प्रतिशतले बढेको छ ।
हालसम्म आइपुग्दा नेपालको व्यापार घाटा विगतको तुलनामा ६.३० ले घटेको हो । चालू आर्थिक वर्षको पाँच महिनाको अन्तरालमा ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ व्यापार घाटा रहेको तथ्यांकले देखाउछ । भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा ५ खर्ब ६९ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो ।
यो आवको मंसिर मसान्तसम्म कुल ५ खर्ब ८१ अर्ब २५ करोड रुपैयाँ बराबरका सामग्री आयात गरिएको छ भने कुल ४७ अर्ब ६१ करोड रुपैयाँ बराबरका सामग्री निर्यात भएको हो ।
गत आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब ५९ अर्ब ४९ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो । गत आवको मंसिर मसान्तसम्ममा ६ खर्ब ६ अर्ब ९९ करोड रुपैयाँ बराबर सामग्री आयात भएको थियो ।
२६.९७ प्रतिशतले बढ्यो निर्यात
गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा चालू आवको पाँच महिनामा निर्यात भने बढ्दो क्रममा रहेको भन्सारको तथ्यांकले देखाएको छ । गत आवको तुलनामा चालू आवको मंसिर महिनासम्ममा निर्यात २६.९७ प्रतिशतले बढेको हो ।
चालू आर्थिक वर्षको यो पाँच महिनामा निर्यातका क्रममा ४७ अर्ब ६१ करोड ६८ लाख रुपैयाँ भित्रिन सफल भएको छ । गत आर्थिक वर्षको मंसिर महिनासम्ममा निर्यातका क्रममा ३७ अर्ब ५० करोड १९ लाख रुपैयाँ नेपाल भित्रिएको थियो ।
नेपालमा आयात घट्नुका ३ कारण
पछिल्लो समय मासिक रुपमै आयात घट्दै गइरहेको छ । आयात घट्नुमा ३ वटा कारण रहेको विज्ञहरु बताउँछन् ।
पहिलाे कारण भारतबाट तरकारीको आयातमा कमि आउनु । विगत केही समयमा भारतबाट तरकारी आयात निकै काम हुँदै गएको छ । नाकामा विषादी परीक्षणको कानुन ल्याइएपछि भारतबाट तरकारी आयात घटेको थियो । त्यसपछि भारतले प्याज निर्यातमा समेत रोक लगाएपछि त्यसले पनि आयात घटाउन ठूलो सहयोग पुर्याएको देखिन्छ ।
दोस्रो कारण आयातमा कर बढाइनु हो । सरकारले आयातमा घर बढाएपछि, यसले आयातलाई निरुत्साहित पारेको हो ।
तेस्रोको कारण राष्ट्र बैंकले गाडीलगायत उपभोग्य वस्तुमा जाने ऋणमा कडाइ गर्दै जानु हो । उपभोग्य वस्तुमा ऋणको व्यवस्थालाई साँघुरो बनाउन थालेपछि यसले पनि आयातलाई हतोत्साहित गरेको देखिन्छ ।