बैंकको बेसरेट कोरोना कालकोभन्दा सस्तो, ५% सम्म झर्‍यो, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) कोरोना कालकोभन्दा सस्तो भएको छ । बैंकहरूले २०८० कात्तिक यता लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाएसँगै लागत घट्न गई बेसरेट पनि सस्तिएको हो । बेसरेट घट्दै गएसँगै कर्जाको ब्याजदर पनि निकै सस्तिएको छ ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरूको औसत बेसरेट ६.७३ प्रतिशतमा झरेको छ । यो २०७६ पुस अर्थात् ५ वर्ष यताकै सस्तो हो ।

२०७६÷७७ मा कारोनाका कारण निक्षेप बैंकिङ प्रणालीमा थुप्रिँदा बेसरेट साढे ६ प्रतिशतसम्म झरेको थियो । पछिल्लो १ वर्षमा मात्रै बैंकहरूको बेसरेट २.७२ प्रतिशत बिन्दुले घटेको छ । गत पुसमा औसतमा ९.४४ प्रतिशत रहेको बैंकहरूको बेसरेट चालु आवको सोही अवधिमा घटेर ६.७३ प्रतिशतमा आएको हो ।

बैंकिङ प्रणलीमा तरलता अभाव हुँदै गएपछि बैंकहरूले निक्षेपको ब्याज बढाउँदा २०७८ असारदेखि बेसरेट महँगिँदै गएको थियो । सो बेला औसतमा ६.८९ प्रतिशत रहेको बेसरेट २०७९ पुसमा बढेर १०.७८ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बेसरेट अहिले ६.७३ प्रतिशतमा झरेको हो ।

आर्थिक शिथिलताका कारण कर्जाको माग नबढेपछि बैंकहरूले १६ महिना यता लगातार निक्षेपको ब्याज घटाउँदा ब्याज खर्च कटौती हुन गई बेसरेट सस्तिएको हो । पछिल्लो १ वर्षको अवधिमै बैंकहरूले निक्षेपको ब्याजदर साढे ४ प्रतिशतसम्म घटाएका छन् भने औसतमै ३ प्रतिशतले घटेको छ । जसको सकारात्मक प्रभाव बेसरेटमा देखिएको हो ।

बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम) थुप्रिएपछि बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । विगतमा तरलता अभावका कारण बैंकहरूले निक्षेपको ब्याजदर नै १२ प्रतिशतसम्म पुर्याएका थिए । जसकारण बैंकहरूको औसत बेसरेट नै दोहोरो अंकका पुगेको थियो ।

नेपाल राष्ट्र बैंकले नीतिगत दरहरू घटाउँदा पनि बैंकहरूलाई ब्याजदर घटाउन सहयोग पुगेको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत, नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत र निक्षेप संकलन बोलकबोलदर ३ प्रतिशतमा झारेको थियो ।

हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये २ बैंकको बेसरेट मात्रै बेसरेट साढे ७ प्रतिशत माथि छ । १८ वाणिज्य बैंकको बेसरेट साढे ७ प्रतिशतभन्दा कम छ । जसमा ७ बैंकको बेसरेट औसतभन्दा पनि कम रहेको छ । ३ बैंकको बेसरेट ६ प्रतिशतभन्दा पनि कम छ ।

२० बैंकमध्ये १८ वटाले चाहेमा ८ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा दिन सक्ने भएका छन् । बैंकहरूले चाहेमा १ प्रतिशतभन्दा कम प्रिमियममा पनि ऋण दिन सक्छन् । र, अहिले केही बैंकले ०.२५ प्रतिशत प्रिमियममा मात्रै पनि ऋण दिन थालेका छन् । नयाँ ऋणको माग नभए पनि अहिले बैंकहरू बीच एक अर्काको पुरानो कर्जा खोस्ने अस्वस्थ्य प्रतिस्पर्धा चल्न थालेकाले अति न्यून प्रिमियममा ऋण दिन थालेका छन् । यसले केही बैंकलाई घाटा पुगे पनि ग्राहकलाई भने फाइदा पुगेको छ । विगतमा १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अहिले अधिकतम १२र१३ प्रतिशतमा झरेको छ ।

कुन बैंकबाट पाइन्छ सस्तोमा ऋण ?

बैंकहरूले आफ्नो लागत अनुसार आधारदर तय गर्छन् । आधारदरमा आएको फेरबदल अनुसार कर्जाको ब्याजदर पनि फरक पर्छ । कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ भन्ने कुरा बैंकहरूको बेसरेटमा भर पर्दछ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।

ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर ब्याजदर सस्तो र महँगो तय गर्छ । अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् भने न्यूनतम ०.५ प्रतिशत प्रिमियममै ऋण दिन्छन् ।

हाल विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा सस्तोमा ऋण दिन सक्छ । यस बैंकको बेसरेट ५.१३ प्रतिशत छ । यो हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तो हो । चार्टर्डले बेसरेटमा न्यूनतम १ प्रतिशत प्रिमियम जोडेर न्यूनतम ६ प्रतिशतमै ऋण दिन सक्छ । बैंकले बेसरेटमा ५ प्रतिशत प्रिमियम जोडेर पनि अधिकतम् १० प्रतिशतमै ऋण दिन सक्छ ।

त्यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य र निजी क्षेत्रको एभरेष्ट बैंकको पनि बेसरेट ६ प्रतिशतभन्दा कम छ । राष्ट्रिय वाणिज्यको ५.४ प्रतिशत र एभरेष्टको ५.८४ प्रतिशत छ । यी बैंकले पनि चाहेमा १ प्रतिशत प्रिमियम जोडेर साढे ६ प्रतिशत ब्याजदरमै ऋण दिन सक्छन् ।

त्यस्तै, नेपाल, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, एनएमबी, सिद्धार्थ र ग्लोबल आइएमईको बैंकको बेसरेट ७ प्रतिशतभन्दा कम छ । यी बैंकले चाहेमा न्यूनतम साढे ७ प्रतिशत ब्याजदरमै ऋण दिन सक्छन् ।

त्यसैगरी, प्रभु, प्राइम कमर्शियल, नेपाल एसबीआई। माछापुच्छ्रे, कुमारी, लक्ष्मी सनराइज, हिमालयन र सिटिजन्सको बेसरेट साढे ७ प्रतिशतभन्दा कम छ । यी बैंकले पनि चाहेमा न्यूनतम ८ प्रतिशत ब्याजदरमै ऋण दिन सक्छन् ।

२० बैंक मध्ये सिटिजन्स र एनआइसी एशियाको मात्रै बेसरेट साढे ७ प्रतिशत माथि छ । तुलनात्मक रुपमा यी बैंकबाट ऋण लिँदा केही महँगो पर्छ । विगतमा महँगो निक्षेप उठाएका कारण यी बैंकको बेसरेट घट्न नसकेको हो ।

नेपाल फाइनान्सको नाफा २५ गुणाले बढ्यो, खराब कर्जा घट्यो Read Previous

नेपाल फाइनान्सको नाफा २५ गुणाले बढ्यो, खराब कर्जा घट्यो

बैंकमा पैसा थुप्रेपछि एकैदिन ९० अर्ब तान्दै राष्ट्र बैंक Read Next

बैंकमा पैसा थुप्रेपछि एकैदिन ९० अर्ब तान्दै राष्ट्र बैंक