पाथीभरामा केबलकार निर्माण सुरू, १५ महिना भित्रै संचालनमा ल्याइने

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने ‘पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार’ परियोजना निर्माण मंगलबारदेखि सुरु भएको छ ।

हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माण कार्य सुरु भएको जानकारी दिए ।

जिल्लाका सबै राजनीतिक दल, सांसद्, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने केदेमले बताए ।

केबलकार कम्पनी सञ्चालक रुद्र पौडेलले पाथीभरा केबलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुंगा बन्ने बताए । केबलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने उनको भनाइ छ ।

पौडेलका अनुसार आगामी १५ महिनाभित्र केबलकार चढेर पाथीभरा देवी दर्शन गर्न सकिने छ । केबलकारले अशक्त वृद्धवृद्धा तथा बालबालिका लगायत भक्तजनलाई समेत पाथीभरा देवीको दर्शन गर्न सहज हुनेछ । पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केबलकार उदाहरण बन्ने विश्वास छ ।

केबलकार सञ्चालनमा आएपछि पाथीभरा देवी दर्शन गर्न आउने पर्यटक संख्या वार्षिक १० लाखसम्म पुग्ने पौडेलको भनाइ छ । केबलकार सञ्चालनले पाथीभरा देवी दर्शनको मौका सबैले सहजै प्राप्त गर्दा भक्तजन संख्या ह्वात्तै बढ्ने उनले बताए ।

साथै, केबलकार परियोजनाले ताप्लेजुङलाई सुरक्षित, दिगो तथा विश्वस्तरीय पर्यटन उत्पादन र सेवा सुविधा सहित अनुपम पर्यटन गन्तव्यका रूपमा स्थापित गराउन सहयोग पुग्ने उनले उल्लेख गरे ।

पाथीभरा केबलकार सञ्चालन तथा व्यवस्थापन आईएमई ग्रुपले गरिरहेको छ । आईएमईले केबलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव हासिल गरिसकेको छ ।

काठमाडौं चन्द्रागिरिमा पहिलो केबलकार निर्माण गरी काठमाडौंमा नयाँ पर्यटन गन्तव्य बनाएको आईएमईले नवलपुरमा मौलाकाली र बुटवलमा लुम्बिनी केबलकार सञ्चालन गरिरहेको छ । यी दुवै केबलकार तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आएका थिए । त्यस्तै कर्णालीमा जालपादेवी केबलकार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।

अब पाथीभरा देवी दर्शन केबलकारको काम छिटोभन्दा छिटो सकेर नेपालको पर्यटन बजारमा थप ‘गेम चेन्जर’ परियोजना अघि बढाउने कार्यमा हातेमालो गर्न पनि आईएमई ग्रुपले आह्वान गरेको छ ।

सिमेन्ट र डण्डीको मूल्य वृद्धिबारे छलफल गर्न लेखाले उद्योगमन्त्रीलाई बोलायो Read Previous

सिमेन्ट र डण्डीको मूल्य वृद्धिबारे छलफल गर्न लेखाले उद्योगमन्त्रीलाई बोलायो

अब कर्जाको माग बढ्छ भन्ने अपेक्षा लिएका छौं : बैंकर्स संघ Read Next

अब कर्जाको माग बढ्छ भन्ने अपेक्षा लिएका छौं : बैंकर्स संघ