काठमाडौं । संघीय संस्दको सार्वजनिक लेखा समितिले निर्माण सामग्रीको मूल्य वृद्धि बारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाएको छ ।
मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्ट, डण्डी लगायत निर्माण सामग्रीको वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय गरेको हो ।
समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
पछिल्लो समय सिमेन्ट र डण्डीको मूल्य ह्वात्तै बढेको छ । चालु आवको ६ महिनामै उद्योगीले सिमेन्टको मूल्य झण्डै दोब्बरले बढाएका छन् । यसले आम सर्वसाधरण र निर्माण व्यवसायी मारमा परेका छन् ।
निर्माणको सिजनमै सिमेन्ट र डण्डीको मूल्य वृद्धि गरिएकाले अर्थतन्त्रमै धक्का पुग्ने निर्माण व्यवसायीले चेतावनी दिएका छन् । निर्माण व्यवसायीले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरेका छन् ।
यसअघि उद्योगीले पटक पटक सिमेन्टको मूल्य वृद्धि नगर्ने भनेर सहमती गरे पनि भाउ बढाउन छाडेका छैनन् ।