लयमा फर्किँदै व्यापार : पुसमा डेढ वर्ष यताकै धेरै आयात, निर्यात ३२% बढ्यो

काठमाडौं । बजारमा उपभोग्य वस्तुको माग क्रमशः बढ्न थालेको छ । पछिल्लो समय आर्थिक गतिविधमा केही सुधार आएसँगै बजारमा उपभोग्य वस्तुको पनि माग बढ्न थालेको हो ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को छैटौं महिना (साउन–मंसिरको वैदेशिक व्यापार तथ्यांकले बजारमा उपभोग्य वस्तुको माग बढेको देखाएको हो ।

चालु आर्थिक वर्षको सुरुदेखि नै आयात खस्किँदो क्रममा थियो तर, मंसिरदेखि लगातार आयात बढेको हो । भन्सार विभागका अनुसार पुस महिनामा १ खर्ब ६० अर्ब ८८ करोड रुपैयाँ बढीको वस्तु आयात भएको हो । यो डेढ वर्ष यताकै धेरै हो ।

असारमा एक महिनामै डेढ खर्बको वस्तु आयात भएको थियो । त्यसयता लगातार घटेर कात्तिकमा १ खर्ब २३ अर्ब रुपैयँँमा सीमित भएको थियो । मंसिरमा १ खर्ब ४८ अर्बको वस्तु आयात भएकोमा पुसमा १ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको हो ।

मंसिरको तुलनामा पुसमा आयात १२ अर्ब रुपैयाँले बढेको हो । विभागका अनुसार चालु आवको ६ महिनामा कुल ८ खर्ब २२ अर्ब रुपैयाँ बढीको वस्तु आयात भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ७.०६ प्रतिशतले धेरै हो । गत वर्ष ६ महिनामा कुल ७ खर्ब ६८ अर्ब रुपैयाँको आयात भएको थियो ।

पछिल्लो समय आर्थिक गतिविधि बढ्दा बजारमा उपभोग्य वस्तुको माग बढ्न गई आयात पनि बढेको हो । हिउँद लागेसँगै निर्माण गतिविधि बढेका छन् । जसकारण उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थको आयात बढ्दा समग्रमा आयात पनि बढेको हो । अहिले डण्डी, सिमेन्ट लगायत उद्योगहरूले कच्चा पद्धार्थको आयात बढाएको देखिन्छ ।

निर्यात ३२ प्रतिशतले बढ्यो

चालु आवमा निर्यात ह्वात्तै बढेको छ । विभागका अनुसार गत वर्षको तुलनामा यस वर्ष निर्यात ३१.७८ प्रतिशत बढेको हो ।

पुससम्म नेपालबाट ९८ अर्ब ७९ करोड रुपैयाँको वस्तु विदेशिएको छ । गत वर्ष यही अवधिमा ७४ अर्ब ९६ करोडको वस्तु निर्यात भएको थियो ।

पुसमा मात्रै २५ अर्बको सामान निर्यात भएको छ । मंसिरमा २१ अर्बको निर्यात भएको थियो । चालु आवको पहिलो तीन महिना घट्दो क्रममा रहेको निर्यात कात्तिकदेखि भने लगातार बढ्न थालेको हो ।

व्यापार घाटा पनि बढ्यो

आयात बढेसँगै व्यापार घाटा पनि बढेको छ । चालु आवको पुससम्म गत वर्षको तुलनामा व्यापार घाटा ४.३८ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा व्यापार घाटा साढे १३ अर्बले बढेर ७ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा व्यापार घाटा ६ खर्ब ९३ अर्ब रुपैयाँ थियो ।

पुससम्म कुल ९ खर्ब २१ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९.२५ प्रतिशत धेरै हो ।

नेप्सेमा सूचक र कारोबार दुवै बढ्यो, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा सूचक र कारोबार दुवै बढ्यो, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

बागमतीका १३७ सहकारी विरुद्ध उजुरी, ८० संस्थाका संचालकलाई कारबाही गर्न पत्रचार Read Next

बागमतीका १३७ सहकारी विरुद्ध उजुरी, ८० संस्थाका संचालकलाई कारबाही गर्न पत्रचार