एनआइसी एशिया बैंकको खुद नाफा ९२% घट्यो, खराब कर्जा साढे ४% पुग्यो

काठमाडौं । एनआइसी एशिया बैंकको खुद नाफामा भारी गिरावट आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ९२.०३ प्रतिशतले घटेकोे हो ।

बैंकले पुस मसान्तसम्म १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको १ अर्ब ७५ करोड रुपैयाँ कम हो । बैंकले गत वर्ष पुससम्म १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घट्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा भारी गिरावट आएको हो । खराब कर्जा बढेपछि बैंकले २ अर्ब ३५ करोड रुपैयाँ प्रोभिजन गरेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशतले घटेर ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, बैंकको सञ्चालन नाफा ९०.४ प्रतिशतले घटेर ३४ करोड रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप १२.९२ प्रतिशत र कर्जा लगानी ९.६३ प्रतिशतले घटेको हो ।

हाल १४ अर्ब ९१ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ २ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक छ । यस अवधिमा बैंकको जगेडा कोषमा १७ अर्ब ४१ करोड संचित छ । पुससम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक छ ।

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.५९ रुपैयाँबाट घटेर २.०३ रुपैयाँमा झरेको छ ।

पुससम्म बैंकको प्रतिसेयर नेटवर्थ १९८.९२ रुपैयाँ, बेसरेट ७.५२ प्रतिशत, सीडी रेसियो ८३.१९ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको कुल खराब कर्जा १.१९ प्रतिशतबाट बढेर ४.६१ प्रतिशत पुगेको छ ।

एभरेष्ट बैंकको खुद नाफाभन्दा वितरणयोग्य नाफा धेरै, ईपीएस ३२ रुपैयाँ Read Previous

एभरेष्ट बैंकको खुद नाफाभन्दा वितरणयोग्य नाफा धेरै, ईपीएस ३२ रुपैयाँ

११ बैंकको नाफा बढ्यो, धेरै कमाउने नबिल, कुनको कति ? Read Next

११ बैंकको नाफा बढ्यो, धेरै कमाउने नबिल, कुनको कति ?