काठमाडौं । प्रभु बैंकको खुद नाफा झण्डै दोब्बरले बढेको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ८५.४९ प्रतिशतले बढेकोे हो ।
बैंकले पुस मसान्तसम्म १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको ६१ करोड रुपैयाँ धेरै हो । बैंकले गत वर्ष पुससम्म ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन नाफा ४५.९५ प्रतिशतले बढेर २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप ०.१६ प्रतिशत र कर्जा लगानी ०.६२ प्रतिशतले घटेको हो ।
हाल २३ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङमा ३ अर्ब ३३ करोड रुपैयाँ ऋणात्मक छ । यस अवधिमा बैंकको जगेडा कोषमा १० अर्ब ५४ करोड संचित छ । पुससम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३३ करोड ऋणात्मक रुपैयाँ छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि झण्डै दोब्बरले बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६.१२ रुपैयाँबाट बढेर ११.३५ रुपैयाँ पुगेको छ ।
पुससम्म बैंकको प्रतिसेयर नेटवर्थ १४४.७९ रुपैयाँ, बेसरेट ७.२६ प्रतिशत, सीडी रेसियो ७४.९५ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा भने बढेर सीमा नाघेको छ । गत वर्ष ४.९० प्रतिशत रहेको बैंकको खराब कर्जा यस वर्ष बढेर ५.०६ प्रतिशत पुगेको छ ।