आर्थिक शिथिलताका बाबजूद यी ४ क्षेत्रमा बढ्दो छ कर्जाको माग

काठमाडौं । विगत २ वर्ष यता बैंकिङ व्यवसाय सुस्त छ । निक्षेप संकलन एकोहोरो बढे पनि सोही अनुपातमा कर्जा लगानी बढ्न सकेको छैन । अर्थतन्त्रमा आएको शिथिलताका कारण माग बढ्न नसक्दा कर्जा लगानी सुस्त भएको हो ।

अर्थतन्त्रमा आएको शिथिलता र व्यवसायीको मनोबल बढ्न नसक्दा कर्जाको माग बढ्न नसकेको हो । सरकार र राष्ट्र बैंकले कर्जाको माग बढाउन एकपछि अर्को नीतिगत लचकता अपनाए पनि कर्जाको माग बढ्न सकेको छैन । पैसा जति बैंकिङ प्रणालीमै थुप्रेर बसेको छ । हाल प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी अधिक तरलता छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा निजी क्षेत्रतर्फ साढे १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको थियो । तर, आधा वर्ष बित्दा लक्ष्यको एकतिहाई पनि कर्जा लगानी हुन सकेको छैन ।

राष्ट्र बैंकको लक्ष्य अनुसार बैंक तथा वित्तीय संस्थाहरूले चालु आवमा ६ खर्ब बढी रुपैयाँ कर्जा लगानी गर्नुपर्छ । तर, चालु आवको ५ महिना (मंसिरसम्म)मा १ खर्ब ६३ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् । यो वृद्धिदर लक्ष्यको ३.२ प्रतिशत मात्रै हो ।

यद्यपि, आर्थिक शिथिलताका बाबजूद पछिल्ला महिनाहरूमा केही क्षेत्रमा भने कर्जाको माग बढेको देखिएको छ । व्यापार, सेयर, चालु पूँजी कर्जा, घरजग्गा लगायत क्षेत्रमा भने कर्जाको माग बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । जसमा व्यापार र सेयर कर्जा लगानीको वृद्धिदर वार्षिक लक्ष्यभन्दा पनि धेरै छ ।

यी क्षेत्रमा बढ्दो छ कर्जाको माग

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने १२ प्रकृतिका कर्जामध्ये चालु आवको ५ महिनामा १० प्रकृतिका कर्जाको वृद्धिदर धनात्मक छ भने २ क्षेत्रको ऋणात्मक छ ।

आर्थिक शिथिलताका बाबजूद २ प्रकारको कर्जाको वृद्धिदर लक्ष्यभन्दा धेरै अर्थात् १२.५ प्रतिशत माथि रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवमा व्यापारिक प्रयोजनका लागि प्रवाह हुने ट्रस्ट रिसिप्ट÷आयात कर्जा लगानी वृद्धिदर सबैभन्दा धेरै ४७.३ प्रतिशत रहेको छ । यसले चालु आवमा व्यापार क्षेत्रमा कर्जाको माग सबैभन्दा धेरै रहेको देखाएको छ । गत असारसम्म ८२ अर्ब ८३ करोड रहेको ट्रस्ट रिसिप्ट कर्जा मंसिर मसान्त आइपुग्दा ३९ अर्बले बढेर १ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, मार्जिन प्रकृतिको (सेयर कर्जा)को वृद्धिदर पनि उच्च छ । चालु आवको ५ महिनामा सेयर कर्जाको वृद्धिदर १९.८ प्रतिशत रहेको छ । ५ महिनामै बैंक तथा वित्तीय संस्थाहरूले १७ अर्ब ८५ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । गत असारसम्म मार्जिन कर्जा लगानी कुल ९० अर्ब रहेकोमा मंसिर आइपुग्दा बढेर १ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी, औद्योगिक क्षेत्रमा पनि कर्जाको माग बढेको देखिएको छ । उद्योगहरूले लिने वर्किङ क्यापिटल लोन ८.७ प्रतिशतले बढेको छ । ५ महिनाको अवधिमा ६३ अर्ब ३२ करोड रुपैयाँ चालु पूँजी कर्जा लगानी भएको छ । गत असारसम्म ७ खर्ब २५ अर्ब चालु पूँजी कर्जा लगानी भएकोमा मंसिर आइपुग्दा बढेर ७ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । निर्माण सिजन सुरू हुन लागेसँगै उद्योगहरूले कच्चा पद्धार्थ आयात बढाउँदा यस्तो कर्जाको माग बढेको हो ।

त्यस्तै, ट्रम लोन, व्यक्तिगत आवास कर्जा, रियल स्टेट र हायर पर्चेज कर्जाको वृद्धिदर २ प्रतिशत माथि छ । विगत २ वर्षदेखि सुस्ताएको घरजग्गा र अटोमोबाइल सेक्टरमा केही सुधार आउँदा कर्जाको माग बढेको देन्छि ।

चालु आवको ५ महिनाको अवधिमा ११ अर्ब १३ करोड व्यक्तिगत घर कर्जा र ९ अर्ब २१ करोड रुपैयाँ रियल स्टेट कर्जा लगानी भएको छ । त्यस्तै, यही अवधिमा साढे ४ अर्ब हायर पर्चेज र ४१ अर्ब ५४ करोड ट्रम लोन लगानी भएको छ ।

चालु आवमा १२ अर्ब १९ करोड क्यास क्रेडिट कर्जा, ७ करोड ९७ लाख बिल खरिद र १३ करोड ६८ लाख रुपैयाँ अन्य प्रकृतिको कर्जा लगानी भएको छ ।

दुई प्रकारका कर्जाको मागमा उच्च गिरावट

चालु वर्षमा दुई प्रकारका कर्जाको मागमा भने उच्च गिरावट आएको छ । १० प्रकारका कर्जा लगानी बढ्दा ओभर ड्राफ्ट कर्जा र डिस्प्राइड सेक्टर (विपन्न वर्ग) कर्जा लगानी भने घटेको हो ।

चालु ओभर ड्राफ्ट कर्जा लगानी सबैभन्दा धेरै ११.१ प्रतिशतले घटेको छ । गत असारसम्म १ खर्ब १२ अर्ब ओभर ड्राफ्ट कर्जा लगानी भएकोमा मंसिरसम्म आइपुग्दा १३ अर्ब ८६ करोडले घटेर १ खर्ब १० अर्ब रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै, चालु आवमा विपन्न वर्गमा प्रवाह हुने कर्जा ७.१ प्रतिशतले घटेको छ । गत असारसम्म विपन्न वर्गमा ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा मंसिर आइपुग्दा २२ अर्ब २२ करोड घटेर २ खर्ब ९० अर्बमा झरेको छ ।

कन्काई पुलको ५ पटक म्याद थप, १३ वर्षमा आधा मात्रै काम पूरा Read Previous

कन्काई पुलको ५ पटक म्याद थप, १३ वर्षमा आधा मात्रै काम पूरा

हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा, साढे ३ महिनादेखि उत्पादन बन्द Read Next

हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा, साढे ३ महिनादेखि उत्पादन बन्द