कन्काई पुलको ५ पटक म्याद थप, १३ वर्षमा आधा मात्रै काम पूरा

झापा । हुलाकी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्न कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ ।

यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । २०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ ।

पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारी समेत रहेका इञ्जिनियर प्रभात किरण राईले जानकारी दिए । उनका अनुसार पाँचौँ पटक थप भएको म्याद २०८० सालको असारमा सकिएको थियो ।

पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक-पटक निर्देशन दिइए पनि निर्माण कम्पनी काम सुरुआत नगरेको इञ्जिनियर राईले बताए । उनका अनुसार अझै पनि काम सुरु गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।

नदीमा पुल नहुँदा यहाँ सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । गौरीगञ्ज गाउँपालिकाले बर्खायाममा नदीमा डुंगा सञ्चालनका लागि २ लाख ३० हजारमा ठेक्का दिएको छ । वडा नं. १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीका अनुसार उक्त ठेक्का लिने व्यक्तिले नै आफ्नै पहलमा हिउँद याममा बाँसको पुल निर्माण गरी मोटरसाइकल तथा पैदलयात्री तार्ने काम गरिरहेका छन् ।

जहाँ मोटरसाइकल र पैदलयात्रीबाट समेत बाँसको पुल तरेबापत् शुल्क उठाउने काम भइरहेको छ । उक्त पुलमा मोटरसाइकललाई एकतर्फी ५० रुपैयाँ र पैदल यात्रीलाई २० रुपैयाँ उठाउने गरेको पाइएको छ ।

पटक-पटक मुख्यमन्त्री, निर्माण व्यवसायीलगायत सम्बन्धित क्षेत्रमा पहल गर्दा कुनै सुनुवाइ नभएको सोही क्षेत्रबाट कोशी प्रदेशसभा सदस्य लखीकुमारी गणेशले बताइन् । ’लागत अनुमान अनुसार पुल निर्माणको काम नभएकाले अहिले आएर काम रोकिएको भन्ने बुझिएको छ,’ उनले भनिन्, ‘अहिलेको ठेक्का प्रक्रिाया रोकी पुनः ठेक्का प्रक्रिया अगाडि बढाउँदै अझै धेरै समय लाग्ने हुँदा पुरानोबाट नै लागत अनुमानअनुसार काम गराई पुल निर्माण सम्पन्न गर्नुपर्छ ।’

विगत १३ वर्षमा थुपै्र सरकारका निर्माण भए, प्रधानमन्त्री भए, मन्त्री भए तर चार वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम अझै पूरा हुन नसकेकोमा गौरीगञ्ज-१ का स्थानीय टंकप्रसाद श्रेष्ठले दुःख व्यक्त गरे । अहिले पुल निर्माण क्षेत्रबाट निर्माण कम्पनीले आफ्ना सामान लगिसकेको अवस्था छ, अब कन्काई पुल निर्माण सम्पन्न होला र पुलमा यात्रा गरौँला भन्ने आश नै मर्यो श्रेष्ठले भने ।

पुल बन्दाबन्दै के कारण विगत एक वर्षदेखि रोकिएको हो थाहा जानकारी नै नभएको झापा गाउँपालिका वडा नंं २ का वडाध्यक्ष हिमालकुमार चाम्लागाईले बताए । ‘यो पुल निर्माण सम्पन्न गर्न पटक–पटक सम्बन्धित निकायलाई अनुरोध गर्दा समेत सुुनुवाइ हुन सकेको छैन,’ उनले भने, ‘दैनिक हजारौँले आवतजावत गर्ने हुलाकी सडकमा यो पुल छिटो बनेमा सेवाग्राही लाभाविन्वत हुनेछन् ।’

लामो समयसम्म पनि कन्काई नदीमाथि पुल निर्माण सम्पन्न नभएपछि यहाँबाट आवतजावत गर्ने मानिसहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । गौरीगञ्ज गाउँपालिकाले बर्खायाममा डुंगा सञ्चालनका लागि दुई लाख ३० हजारमा ठेक्का दिएको वडा नं. १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले वताए । उनका अनुसार उक्त ठेक्का लिने व्यक्तिले नै आफ्नै पहलमा हिउँद याममा बाँसको पुल निर्माण गरी मोटरसाइकल तथा पैदलयात्री तार्ने काम भइरहेको छ ।

उक्त ठेक्का लिएका ईश्वर माझीका अनुसार कन्काई नदी तार्न बनाइएको उक्त पुल तार्न मोटरसाइकललाई एकतर्फी ५० र पैदल यात्रीलाई २० लाग्ने गरेको छ । यात्रालाई सहज बनाउन पुल निर्माण गरी सेवा दिइरहेको माझीले बताए । यो बाटो भई यात्रा गर्ने पैदलयात्री तथा मोटरसाइकल यात्रीले शुल्क उठाउने विषयमा विरोध गर्दै आएका छन् । विरोध बढ्दै गएपछि गाउँपालिकाले बाँसको पुलमा यात्रा निःशुल्क गर्ने विषयमा संवाद भइरहेको गौरीगञ्ज–१ का अध्यक्ष राजवंशीले बताए । रासस

इजरेल र हमासबीच युद्धविराम, बन्धक रिहा गर्ने सम्झौता Read Previous

इजरेल र हमासबीच युद्धविराम, बन्धक रिहा गर्ने सम्झौता

आर्थिक शिथिलताका बाबजूद यी ४ क्षेत्रमा बढ्दो छ कर्जाको माग Read Next

आर्थिक शिथिलताका बाबजूद यी ४ क्षेत्रमा बढ्दो छ कर्जाको माग