आयल निगमको धनगढी डिपो गोदावरीमा सारिँदै, २१ बिघा जग्गा पहिचान

काठमाडौं । नेपाल आयल निगमले धनगढीस्थित सुदूपश्चिमाञ्चम प्रादेशिक डिपो कैलालीको गोदावरी नगरपालिकामा सार्ने भएको छ । डिपो सार्नका लागि गोदावरीमा २० बिघा १६ कठ्ठा ८ धुर जग्गा पहिचान गरिएको निगमले जनाएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजना संयोजक प्रदीपकुमार यादवले डिपो सार्न जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिस गरिएको जानकारी दिएयो । उनले हाल धनगढी उपमहानगरपालिकाको चटकपुरस्थित डिपो घना बस्तीबीचमा रहनुका साथै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न जग्गा साँघुरो भएकाले सुरक्षित स्थानमा सार्नु परेको बताए ।

‘एक बिघा आठ कट्ठामा सञ्चालित धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनुका साथै सुरक्षाको मापदण्डभन्दा बाहिर परेको हुनाले डिपो स्थान्तरण अनिवार्य भएको हो,’ परियोजना प्रमुख यादवले भने । विसं २०३७ मा स्थापना गरिएको उक्त डिपोले हालको पेट्रोलियम पदार्थको माग धान्न नसक्नुका साथै भौतिक पूर्वाधार पनि जीर्ण भएकाले स्थान्तरण गर्नुपरेको उनले उल्लेख गरे ।

आगामी चैतभित्र जग्गा अधिग्रहण सम्पन्न हुने र आगामी वैशाख पहिलो साता डिपो शिलान्यास गरिने निगमको योजना छ । विसं २०८४ वैशाखभित्र नयाँ डिपो सञ्चालनमा ल्याइने छ । जग्गा अधिग्रहण र डिपो निर्माणका लागि ३ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । काठमाडौं विश्वविद्यालयले डिपोको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) निर्माण गर्ने आयल निगमले जनाएको छ ।

यसअघि डिपो सार्न कञ्चनपुरको पुनर्वास नगरपालिका-३ र ६ मा अवस्थित राष्ट्रिय आवास कम्पनीको २२ बिघा जग्गा लिने तयारी गरेको थियो । पुनर्वास नगरपालिकाले जग्गा प्राप्तिको सिफारिस दिन अस्वीकार गरेपछि अर्को जग्गा खोज्नु परेको हो ।

नयाँ डिपोमा पेट्रोल १ हजार ८०० किलोलिटर, डिजेल ६ हजार ६०० किलोलिटर र मट्टितेल ५०० किलोलिटर भण्डारण क्षमता निर्माण गरिनेछ । सो डिपोबाट सुदूरश्चिमाञ्चका ९ जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था मिलाउँदै आएको छ । हालको डिपोमा पेट्रोल र डिजेल ७६०/७६० किलोलिटर र मट्टितेल ७० किलोलिटर भण्डारण क्षमता रहेको छ ।

निगमको चालु आवको बजेटमा सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने नीति अनुरूप कर्णाली र सुदूपश्चिम प्रदेशमा जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिस गरिएको परियोजना संयोजक यादवले जानकारी दिए ।

क्यूएफएक्सका हलमा बालबच्चा लैजान निषेध Read Previous

क्यूएफएक्सका हलमा बालबच्चा लैजान निषेध

रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश Read Next

रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश