कालीगण्डकी करिडोरको फलेवास-अर्मादी सडकलाई बजेट सुनिश्चित

पर्वत । निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास-अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ ।

सङ्घीय सरकारको अर्थ मन्त्रालयले उक्त खण्डका लागि १ अर्ब ५० करोड रुपैयाँ बराबरको स्रोत सहमति गरेसँगै काम अघि बढ्ने भएको हो ।

लोकमार्गको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास-अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्ती र बजेट विनियोजन नभएका कारण अलपत्र बनेको थियो ।

उक्त खण्डको मार्ग विस्तार र स्तरोन्नतिका लागि २०७३ साल असार २२ मा सम्झौता भई २०७५ साल जेठ २१ गते सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएकामा गत वर्षमात्र मार्ग खुलाउने कार्य पूरा भएको थियो । कालोपत्रका लागि बजेट सुनिश्चित नहुँदा काम हुनसकेको थिएन । सांसद पदम गिरीले फलेवास-अर्मादी सडक खण्डको काम सुरु हुने बताए ।

यसअघि उक्त खण्डका लागि ९ करोड १७ लाख ४९ हजार २४५ रुपैयाँ विनियोजन भएको थियो । उक्त बजेटले फलेवास नगरपालिका–६ ढिकबाट कुश्मा नगरपालिका-४ अर्मादीसम्मको १४ किलोमिटर ट्र्याक खोलेको थियो । त्यसबाहेक अन्य काम भने हुनसकेको थिएन ।

मोदीवेणीबाट अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक गत वर्षमात्र खुलाइएको भए पनि सवारीसाधन सहज रूपमा चल्न सक्ने अवस्था छैन ।

कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर पिपुल गौतमका अनुसार मन्त्रालयबाट बजेट सुनिश्चित भएसँगै अब उक्त खण्डको काम ठेक्का प्रक्रियामा जाने बताए । कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । यसअन्तर्गत सेतीवेणीबाट फलेवाससम्मको भाग कालोपत्र भइसकेको छभने मालढुङ्गाबाट बेनीसम्मको १३ किलोमिटर खण्डको काम पनि बेनी–जोमसोम–कोरला सडक आयोजनाले गरिरहेको छ ।

अब बाँकी रहेको फलेवास-अर्मादी खण्ड १४ किलोमिटर सडक पूरा भएमा पर्वत खण्ड पूरै सम्पन्न हुने इन्जिनियर गौतमले बताए । यो सडकले पर्वतको उत्तर-दक्षिणसम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको लाइफ लाइनको रूपमा हेरिँदै आइएको छ । रासस

एनआइसी एशिया र नेपाल बैंकले पनि लाभांश नदिने Read Previous

एनआइसी एशिया र नेपाल बैंकले पनि लाभांश नदिने

कानुन संशोधन स्वागतयोग्य, पूर्ण कार्यान्वयन अत्यावश्यक छ : सीएनआइ Read Next

कानुन संशोधन स्वागतयोग्य, पूर्ण कार्यान्वयन अत्यावश्यक छ : सीएनआइ