काठमाडौं । बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.५५ प्रतिशतले घटेको उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५.८८ प्रतिशत थियो ।
सो प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३२.८० प्रतिशत, उद्योग क्षेत्रको १६.३२ प्रतिशत र सेवा क्षेत्रको ५०.८८ प्रतिशत योगदान रहने अनुमान छ ।
कृषि भूमि घटन जाँदा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसारलगायत बालीले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल कम भएको हो । कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७.९२ प्रतिशत, तरकारी बालीको ५.११ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ६.९७ प्रतिशत छ ।
कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१.६४ प्रतिशत छ । आव २०८०/८१ मा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन १.१३ प्रतिशतले वृद्धि भएको छ ।
विशेष गरी खाद्य बाली अन्तर्गत धान ७.४५ प्रतिशत तथा कोदो ०.८६ प्रतिशतले वृद्धि भएकाले समग्र कृषि बालीको उत्पादन वृद्धि भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा तरकारीको उत्पादन १.९८ प्रतिशत, चियाको उत्पादन ०.०१ प्रतिशत, कफीको उत्पादन १.२३ प्रतिशत तथा महको उत्पादन ०.२८ प्रतिशतले बढेको छ भने फलफूलको उत्पादन ०.९४ प्रतिशत र मसलाको उत्पादन ८.०३ प्रतिशतले घटेको छ ।
आव २०८०/८१ मा यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३७.३ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६.७४ प्रतिशत रहेको थियो ।
कोशी प्रदेशमा कुल सिञ्चित क्षेत्रफल १.५२ प्रतिशतले विस्तार भएको छ । त्यसैगरी दुध उत्पादन १९.९३ प्रतिशत, मासु उत्पादन २.३० प्रतिशत तथा माछा उत्पादन १.२१ प्रतिशतले वृद्धि भएको छ । अण्डा उत्पादन १.७३ प्रतिशत तथा ऊनको उत्पादन ६.४३ प्रतिशतले घटेको छ ।
यसैगरी, काठको उत्पादन १५.२९ प्रतिशतले वृद्धि भएको छ । २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा २.१० प्रतिशतले घटेर रू. ५९ अर्ब ९० करोड ७४ लाख ४१ हजार पुगेको छ । गत असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १०.१२ प्रतिशत रहेको छ । यस प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ५२.७ प्रतिशत रहेको छ । आव २०७९/८० मा उक्त उद्योगको औसत क्षमता उपयोग ५१.१ प्रतिशत रहेको थियो ।
उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१.३ प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.४ प्रतिशत रहेको छ । अध्ययनमा समेटिएका उद्योगको उत्पादनमध्ये गार्मेन्ट उत्पादन सबैभन्दा बढी छ भने घरेलु धातुका सामानको उत्पादन ४५.७ प्रतिशतले घटेको छ ।
सो प्रदेशका ४३ वटा उद्योगमा आव २०७९/८० मा १८ हजार ४६१ जना श्रमिक कार्यरत रहेकामा समीक्षा आर्थिक वर्षमा ती उद्योगमा जम्मा १६ हजार ९५८ जना श्रमिक कार्यरत छन् जुन गत वर्षको सोही अवधिको तुलनामा ८.१ प्रतिशतले कम हो । सुनसरी, मोरङ, इलाम, झापा र उदयपुरमा रहेका उद्योगमा श्रमिकले रोजगारी गुमाएका छन । कुल औद्योगिक रोजगारीमध्ये ८३.२ प्रतिशत स्वदेशी र १६.८ प्रतिशत विदेशी कामदारहरूले रोजगारी प्राप्त गरेका थिए । समीक्षा वर्षमा कुल औद्योगिक रोजगारीमा स्वदेशी र विदेशी कामदारको सहभागिता क्रमशः ९१ प्रतिशत र ९ प्रतिशत छ ।
केन्द्रीय बैंकका अनुसार, २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जा ८.११ प्रतिशतले वृद्धि भइ रू. १ खर्ब ३९ अर्ब कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा ६.६४ प्रतिशतले वृद्धि भएको थियो । सो प्रदेशमा वाणिज्य बैंकका ७५४, विकास बैंकका १९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका ८५२ गरी जम्मा १ हजार ८३७ शाखा पुगेका छन् ।
त्यसैगरी २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा सो प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १३.३८ प्रतिशतले वृद्धि भई रू. ४ खर्ब ७७ अर्ब र प्रवाह गरेको कर्जा ३.८१ प्रतिशतले वृद्धि भई रू. ५ खर्ब ७८ अर्ब पुगेको छ ।