५ वर्षमा १ खर्ब बढी कृषि अनुदान वितरण

काठमाडौं । सरकारले पछिल्लो ५ वर्षमा १ खर्ब रुपैयाँ बढी कृषि अनुदान वितरण गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले पछिल्लो ५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ अनुदान वितरण गरेको जानकारी दिएका हुन् ।

उनले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म मन्त्रालयबाट अनुदान लिने कृषि सहकारी, कृषि समूह तथा कृषि फार्महरूका नाम पनि सार्वजनिक गरेका छन् । मन्त्री अधिकारीले कृषि सहकारी समूहले २० अर्ब ३० करोड ३० लाख १४ हजार रुपैयाँ अनुदान लिएको जानकारी दिए । यसरी राज्य कोषबाट दिइएको अनुदान दुरुपयोग गरेको भेटिए कारबाहीको दायरामा ल्याइने मन्त्री अधिकारीले प्रतिबद्धता व्यक्त गरे ।

यस अवधिमा मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएका छन् । त्यसमध्ये प्रत्यक्षतर्फ यस मन्त्रालयअन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फार्मलाई २० अर्ब ३० करोड ३० लाख १४ हजार रुपैयाँ वितरण गरिएको छ । अप्रत्यक्षतर्फ रासायनिक मलका लागि ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ अनुदान वितरण भएको मन्त्री अधिकारीले जानकारी दिए ।

उनले यसरी दिइएको अनुदानको प्रयोगबारे खोज्न र जान्न आमनागरिक र सञ्चारमाध्यमलाई आग्रह गरे । ‘मन्त्रालयबाट वितरण गरिएको अनुदानको अवस्था के कस्तो छ भनेर अध्ययनका लागि हामीले समिति नै गठन गरेर काम सुरु गरिसकेका छौ,’ मन्त्री अधिकारीले भने, ‘कृषि अनुदान लगेर दुरुपयोग गरिएको छभने कारबाही हुन्छ र हुनुपर्दछ । त्यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।’

उनले लोकतान्त्रिक शासन व्यवस्था देश र जनताप्रति उत्तरदायी तथा जवाफदेही हुने भएकाले जनतालाई आशा जगाउने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘पारदर्शिताले मात्र यो शासन व्यवस्था र सरकारप्रति जनताको विश्वास तथा भरोसा जागृत हुने भएकाले प्रदेश र स्थानीय सरकारलाई पनि कृषि अनुदान लिने सङ्घ÷संस्था, सहकारी र व्यक्तिको नाम सार्वजनिक गर्न अपिल गर्दछु,’ कृषिमन्त्री अधिकारीले भने ।

कोशी प्रदेशमा घट्यो कृषि गर्ने जमिनको क्षेत्रफल Read Previous

कोशी प्रदेशमा घट्यो कृषि गर्ने जमिनको क्षेत्रफल

माघमा अधिकांश बैंकको ब्याजदर स्थिर, दुइटाले घटाए, कुनको कति ? Read Next

माघमा अधिकांश बैंकको ब्याजदर स्थिर, दुइटाले घटाए, कुनको कति ?