काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हरित जलवायु कोष (ग्रीन क्लाइमेट फण्ड-जीसीएफ)बाट मान्यता पाएको छ ।
बैंकले जीसीएफ अन्तर्गतका आयोजना चलाउने संस्थाहरूले मापदण्ड पूरा गरे/नगरेको मूल्यांकन तथा प्रमाणीकरण (एक्रिडिटेसन) गर्ने अधिकार पाएको हो ।
यससँगै बैंक नेपालको पहिलो निजी क्षेत्रको संस्था र पहिलो वाणिज्य बैंक बन्न सफल भएको छ ।बैंकले ५ करोडदेखि २५ करोडसम्मका आयोजनाहरू कार्यान्वयन गर्ने संस्थाहरूको मूल्यांकन र प्रमाणीकरण गर्न पाउने भएको हो।
हरित जलवायु कोष सन् २०१० मा ऐतिहासिक पेरिस सम्झौता अन्तर्गत १९४ मुलुक सदस्य रहने गरी बनाएको कोष हो।
जीसीएफ विश्वको सबैभन्दा ठूलो जलवायु कोष हो, जसको उद्देश्य ‘जलवायु परिवर्तनसँग लड्नका लागि अन्तर्राष्ट्रिय समुदायद्वारा निर्धारण गरिएका लक्ष्यहरू प्राप्त गर्न विश्वव्यापी प्रयासहरूमा महत्त्वाकांक्षी योगदान र्पुयाउने र विकासशील देशहरूलाई तिनीहरूको राष्ट्रिय रूपमा निर्धारण गरिएका योगदानहरू (एनडीसी) कम-उत्सर्जन, जलवायु-लचिलो मार्गहरूतर्फ बढाउन र महसुस गर्न समर्थन गर्ने’ हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले भने, ‘हामी जीसीएफद्वारा मान्यता प्राप्त हुन पाउँदा सम्मानित महसुस गरिरहेका छौं र नवीन र रूपान्तरणकारी जलवायु परिवर्तन परियोजनाहरू कार्यान्वयन गर्ने हाम्रो मिशनलाई अघि बढाउन यो अवसरको उपयोग गर्न उत्साहित छौं ।’
बैंकले हाल देशभरका २७२ शाखा, ८१ शाखारहित बैंकिङ, २६६ एटीएम र ६५ एक्सटेन्सन काउण्टर मार्फत करिब ३२ लाख ९० हजार ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।