काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।
अध्यक्ष नियुक्तिको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा गठित सिफारिस समितिले शुक्रबार एक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।
योग्याता पुगेका इच्छुक नेपाली नागरिकलाई आजको मितिले १५ दिन भित्र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
बीमा प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिनका लागि बीमा, मौद्रिक, बैकिंङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ ।
त्यस्तै, उच्च नैतिक चरित्र भएको, ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । आवेदनसाथ व्यावसायिक कार्ययोजना ४ प्रति खामबन्दी गरी पेश गर्नु पर्नेछ ।
प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध मंसिर २४ गते भ्रष्टाचार मुद्दा दायर भएपछि उनी स्वत निलम्बनमा परेका थिए । त्यस यता प्राधिकरणको अध्यक्ष पद रिक्त छ । हाल अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।