साढे २८ हजार मेगावाट बिजुली उत्पादनका लागि यसरी जुटाइन्छ ६२ खर्ब लगानी

काठमाडौं । सरकारले लक्ष्य अनुसार २८ हजार ५०० मेगावाट बिजुली उत्पादनका लागि झण्डै  साढे ६२ खर्ब रुपैयाँ बराबरको लगानी आवश्यक पर्ने भएको छ ।

पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘ऊर्जा विकास मार्गचित्र-२०८१’ स्वीकृत गर्दै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको बाटो खुलाएको छ । उक्त क्षमताका आयोजनाहरू निर्माण गर्न ४६.५ अर्ब अमेरकी डलर (करिब ६२ खर्ब ३१ अर्ब रुपैयाँ) खर्च हुने आकलन गरिएको हो ।

मार्गचित्रमा जलविद्युत आयोजना, प्रसारण वितरण तथा सबस्टेसनका लागि आवश्यक पर्ने लगानीको विवरण समेटिएको हो ।

मार्गचित्रमा १३२ किलोभोल्टको ६ हजार ४३१ सर्किट किलोमिटर, २२० केभीका ४ हजार ६१ सर्किट किलोमिटर र ४०० केभीका ६ हजार ४४० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरी सबस्टेशनको क्षमता ४० हजार एमभीए पुर्याउने लक्ष्य निर्धारण गरिएको छ ।

प्रतिवेदनमा जलविद्युत् आयोजना र आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने ४६.५ अर्ब डलर कसरी जुटाउने भन्ने पनि उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार नेपाल सरकारले ६ अर्ब डलर (सवा ८ खर्ब रुपैयाँ), आन्तरिक स्रोत (नेपाली बैंक तथा वित्तीय संस्था) १० अर्ब डलर (पौने १४ खर्ब रुपैयाँ), नेपाल विद्युत प्राधिकरणबाट ८ अर्ब डलर (११ खर्ब रुपैयाँ), क्लाइमेट फाइनान्सिङबाट २ अर्ब डलर (पौने ३ खर्ब रुपैयाँ) जुटाइने छ ।

त्यसैगरी, गैरआवसीय नेपाली तथा वैदेशिक रोजगारीमा रहेका नेपाली मार्फत १२ अर्ब (१६ खर्ब ४४ अर्ब रुपैयाँ) र वैदेशिक लगानी, अनुदान र ऋण गरी ८.५ अर्ब अमेरिकी डलर (साढे ११ खर्ब रुपैयाँ) लगानी जुटाउने सरकारको योजना छ ।

मार्गचित्रमा जलविद्युत् आयोजनाहरूको उत्पादन लागत पनि उल्लेख गरिएको छ । जस अनुसार नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना प्रतिमेगावाट औसत लागत १६ लाख अमेरिकी डलर, अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको १७ लाख डलर र जलाशययुक्त जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत २७ लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

त्यस्तै, ऊर्जा मार्गचित्रमा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना ४ वर्षमा, अर्ध जलाशययुक्त ६ वर्षमा र जलाशययुक्त ७ वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको छ ।

२८ हजार ५०० मेगावाट बिजुली आपूर्ति हुँदा ६५ खर्ब रुपैयाँ आम्दानी हुनेछ भने वार्षिक ८८ अर्ब राजस्व संकलन हुनेछ विद्युत बिक्रीबापत उत्पादकहरूले करिब ३९ खर्ब रुपैयाँ प्राप्त गर्नेछन् ।

उक्त अवधिसम्म १५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य राखिएको छ । भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट बिजुली निर्यात गर्ने योजना छ । हाल वर्षायाममा भारमा करिब १ हजार मेगावाट र बंगलादेशलमा ४० मेगावाट विद्युत् निर्यात हुन्छ ।

टीकापुर जग्गा काण्डमा ८७ जना दोषी ठहर Read Previous

टीकापुर जग्गा काण्डमा ८७ जना दोषी ठहर

सरकारले अघि बढायाे बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया, आवेदन माग Read Next

सरकारले अघि बढायाे बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया, आवेदन माग