प्रदेश र स्थानीय तहको संचिति कोष बचतमा, संघीय सवा २ खर्ब ऋणात्मक

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म प्रदेश र स्थानीय तहको सञ्चित कोष धनात्मक रहँदा संघीय सरकारको सञ्चित कोष भने ऋणात्मक रहेको छ । महालेखा नियन्त्रक कार्यालयले तयार पारेको तीन तहको सरकारको एकीकृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशको सञ्चित कोषमा ५० अर्ब ९० करोड ९८ लाख रुपैयाँ र स्थानीय तहको सञ्चित कोषमा ६० अर्ब ५० करोड ८० लाख रुपैयाँ संचित छ । तर, सोही अवधिका केन्द्रीय सरकारको संचित कोष भने २ खर्ब २८ अर्ब ३५ करोड ७६ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

यस अवधिमा तीन तहको सरकारको संचिति कोष समग्रमा १ खर्ब १६ अर्ब ९३ करोड ९७ लाखले ऋणात्मक रहेको कार्यालयले जनाएको छ । अघिल्लो आवको तुलनामा गत आवमा समग्र संचित कोष थप ७८ अर्बले ऋणात्मक भएको हो । आव २०७९/८० को अन्त्यसम्म ३८ अर्ब २० करोड ५४ लाखले ऋणात्मक रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा संघीय कुल प्राप्ति १२ खर्ब ८४ अर्ब ६७ करोड ६३ लाख रहेको र कुल भुक्तानी १३ खर्ब ४६ अर्ब २१ करोड १२ लाख भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार तीन तहका सरकारको बजेटरी तथा गैर बजेटरी निकायको नगद बाँकी तथा बैंक मौज्दात घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा समग्रमा ३ तहका सरकारका बजेटरी निकायहरुको कुल नगद तथा बैंक मौज्दात ६१ अर्ब ८५ करोड रुपैयाँ धनातमक रहेको छ । गैरबजेटरी निकायको सोही अवधिको नगद तथा बैंक मौज्दात रकम ७२ अर्ब २७ करोड ५१ लाख रुपैयाँ धनात्मक रहेको छ ।

तीन तहका सरकारको बजेटरी तथा गैर बजेट निकायको नगद बाँकी तथा बैंक मौज्दात १ खर्ब ३४ अर्ब १२ करोड ५१ लाख रुपैयाँले धनात्मक अवस्थामा रहेको कार्यालयले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा समग्रमा तीन तहका सरकारको बजेटरी निकायको नगद तथा बैंक मौज्दात १ खर्ब ३० अर्ब १४ करोड ७ लाख धनात्मक रहेको थियो । त्यस्तै गैरबजेटरी निकायको सोही अवधिको नगद तथा बैंक मौज्दात रकम २१ अर्ब ५९ करोड ५ लाख रुपैयाँ  धनात्मक रहेको थियो ।

तीन तहका सरकारको बजेटरी तथा गैर बजेटरी निकायको नगद बाँकी तथा बैंक मौज्दात १ खर्ब ५१ अर्ब ७३ करोड १२ लाख रुपैयाँले धनात्मक रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा जम्मा ३ खर्ब ३९ अर्ब ४१ करोड ६२ लाख हस्तान्तरण भएको छ । जसमध्ये संंघीय सरकारबाट प्रदेश सरकारलाई ७६ अर्ब १ करोड ९९ लाख र स्थानीय तहलाई २ खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख रुपैयाँ हस्तान्तरण भएको छ ।

स्थानीय तहलाई प्रदेश सरकारबाट पनि २१ अर्ब २० करोड ९७ लाख रुपैयाँ हस्तान्तरण भएको छ । संघीय सरकारबाट हस्तान्तरण भएको रकम समेत गरी जम्मा २ खर्ब ८४ अर्ब ६० करोड ६० लाख रुपैयाँ स्थानीय तहमा हस्तान्तरण भएको महालेखाले जनाएको छ ।

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

वायुसेवा निगमको अध्ययन गर्न उपसमिति गठन Read Next

वायुसेवा निगमको अध्ययन गर्न उपसमिति गठन