काठमाडौं । सेयर बजारमा ६ दिनपछि गिरावट आएको छ । पुस १८ गतेदेखि लगातार बढेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको हो ।
बिहीबार नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने झण्डै १ अर्ब रुपैयाँले बढेर ७ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये होटल बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.९३ प्रतिशतले घटेको छ ।
सुपर मादी हाइड्रोपावरको ४४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको २८ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्य घटेको छ ।
घट्दो बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।