काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी बीच लगानी सम्झौता सम्पन्न भएको छ ।
लमजुङ्गस्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी-१ जलविद्युत आयोजनामा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा ७ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका हुन् ।
सो आयोजनाको कुल लागत २१.४० अर्ब रूपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
सो आयोजनाको कुल लागत २१ अर्ब ४० करोड रहेको छ । सो परियोजना निमार्णको लागि सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवद्धक/संस्थापकहरूको लगानी रहने छ ।
लक्ष्मी बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ७ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सहअगुवा ग्लोबल आइएमइ बैंकको ६ अर्ब र प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ ।
अपर मर्स्याङ्दी हाइड्रोपावर-१ ले २०७५ पुस १० गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिएको थियो । २०८१ को पुस ९ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवद्र्धकको रूपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् ।
सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपछि वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो ठूला स्वतन्त्र उर्जा उत्पादक मध्य एकको रूपमा रहने विश्वास लिइएको छ ।