१६ शाखाबाट कर्णाली डेभलपमेन्टका निक्षेपर्ताको पैसा फिर्ता सुरू, २५ हजार दिने

काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको बचत फिर्ता सुरू भएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहले बुधबारदेखि निक्षेपकर्ताको बचत फिर्ता दिन थालेको हो ।

बैंकका विभिन्न १६ शाखाबाट बचत फिर्ता दिन सुरू गरिएको छ । व्यवस्थापन समूहले ग्राहकलाई बचत फिर्ताका लागि विभिन्न शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

बैंकले बिरामी, वृद्ध र बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर बचत फिर्ता गर्ने जनाएको छ । बैंक व्यवस्थापन समूहका अनुसार २५ हजार रुपैयाँको सीमा भित्र रही प्रति शाखा अधिकतम ५० जनासम्मलाई निक्षेप भुक्तानी गरिने छ ।

बैंकले केन्द्रीय कार्यालय नेपालगञ्ज, तुल्सीपुर शाखा, लमही शाखा, गुलरिया शाखा, बाँसगढी बर्दिया शाखा, भुरिगाउँ दाङ शाखा, घोराही शाखा, कोहलपुर शाखा, खजुरा शाखा, सानोश्री शाखा, भालुवाङ शाखा, गढवा शाखा, राजापुर शाखा, नारायणपुर शाखा, सिसहनिया शाखा, शम्शेरगञ्ज शाखा, बैजापुर शाखा र विजौरी शाखा दाङबाट बचत फिर्ता गर्ने भएको छ ।

कर्णालीलाई नेपाल राष्ट्र बैंकले गत पुस १० गते समस्याग्रस्त घोषणा गर्दै आफ्नो नियन्त्रणमा लिएको थियो । राष्ट्र बैंकले त्यसअघि मंसिर ११ गते कर्णालीलाई शीघ्र सुधारात्मक कारबाही गरेको थियो । त्यसपछि पनि बैंकको अवस्थामा सुधार नदेखिएपछि समस्याग्रस्ता घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुसार विकास बैंकको खराब कर्जा ५ प्रतिशत भन्दा कम र पूँजीकोष १० प्रतिशत माथि हुनुपर्छ । तर, राष्ट्र बैंकले गरेको अनुगमनमा बैंकको खराब कर्जा ४०.८५ प्रतिशत पाइएको छ ।

पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी ५० करोड २८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड ८ लाख रुपैयाँ संचित छ ।

यस अवधिसम्म बैंकमा सर्वसाधरणको ५ अर्ब २१ करोड रुपैयाँ निक्षेप छ । बैंकले ३ अर्ब ८१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । असोजसम्म बैंक १ करोड ९८ लाख रुपैयाँ घाटामा छ भने वितरण योग्य नाफा २० करोड ८३ लाख ऋणात्मक छ ।

 

अलैँचीको भाउ १२ वर्ष यताकै उच्च, एकै परिवारद्वारा ३४ लाखको उत्पादन Read Previous

अलैँचीको भाउ १२ वर्ष यताकै उच्च, एकै परिवारद्वारा ३४ लाखको उत्पादन

भ्रष्टाचार निवारण विधेयक राज्यव्यवस्था समितिबाट पारित Read Next

भ्रष्टाचार निवारण विधेयक राज्यव्यवस्था समितिबाट पारित