सरकारले खुलायो साढे २८ हजार मेगावाट बिजुली उत्पादनको बाटो

काठमाडौं । सरकारले ‘ऊर्जा विकास मार्गचित्र-२०८१’ स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रस्तावमा पुस १६ गते बसेको मन्त्रिपरिषदको बैठकले ऊर्जा विकास मार्गचित्र पारित गरेको हो ।

लामो छलफल र बहसपछि मन्त्रिपरिषद्बाट उक्त मार्गचित्र स्वीकृत भएको हो । उक्त मार्गचित्र गत वर्ष नै मन्त्रिपरिषद्मा पुगे पनि पूर्वाधार समितिबाट फर्काइएको थियो । त्यसपछि केही बुँदा हेरफेर गरेर अहिले पारित गरिएको हो ।

ऊर्जा मार्गचित्र पारित भएसँगै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको बाटो खुलेको छ । मार्गचित्रमा जलविद्युत आयोजना, प्रसारण वितरण तथा सबस्टेसनका लागि आवश्यक पर्ने लगानीको विवरण समेटिएको छ ।

सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । उक्त क्षमताका आयोजनाहरू निर्माण गर्न ४६.५ अर्ब अमेरकी डलर (करिब ६२ खर्ब ३१ अर्ब रुपैयाँ) खर्च हुने आकलन गरिएको छ ।

त्यस्तै, ऊर्जा मार्गचित्रमा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना ४ वर्षमा, अर्ध जलाशययुक्त ६ वर्षमा र जलाशययुक्त ७ वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको छ ।

मार्गचित्रमा जलविद्युत् आयोजनाहरूको उत्पादन लागत पनि उल्लेख गरिएको छ । जस अनुसार नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना प्रतिमेगावाट औसत लागत १६ लाख अमेरिकी डलर, अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको १७ लाख डलर र जलाशययुक्त जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत २७ लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । ।

प्रतिवेदनमा जलविद्युत् आयोजनाहरू निर्माणका लागि स्रोत कहाँबाट जुटाउने पनि उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार नेपाल सरकारले ६ अर्ब डलर, आन्तरिक स्रोत (नेपाली बैंक तथा वित्तीय संस्था) १० अर्ब डलर, नेपाल विद्युत प्राधिकरणबाट ८ अर्ब, क्लाइमेट फाइनान्सिङबाट २ अर्ब, गैरआवसीय नेपाली तथा वैदेशिक रोजगारीमा रहेका नेपाली मार्फत १२ अर्ब र वैदेशिक लगानी, अनुदान र ऋण गरी ८.५ अर्ब अमेरिकी डलर लगानी जुटाउने सरकारको योजना छ ।

२८ हजार ५०० मेगावाट बिजुली आपूर्ति हुँदा ६५ खर्ब रुपैयाँ आम्दानी हुनेछ भने वार्षिक ८८ अर्ब राजस्व संकलन हुनेछ विद्युत बिक्रीबापत उत्पादकहरूले करिब ३९ खर्ब रुपैयाँ प्राप्त गर्नेछन् ।

सन् २०३५ सम्म प्रतिव्यक्ति विद्युत खपत १५०० युनिट र्पुयाइने लक्ष्य राखिएको छ । उक्त अवधिसम्म १३२ केभीका ६ हजार ४३१ सर्किट किमी,२२० केभीका ४०६१ सर्किट किमी र ४०० केभीका ६४४० सर्किट किमी प्रसारणलाइन निर्माण सम्पन्न गरी सबस्टेसनहरूको क्षमता ४० हजार एमभीए र्पुयाइने उल्लेख छ

उक्त अवधिसम्म १५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य राखिएको छ । भारतमा १० हजार मेगावाट र बैंकलादेशमा ५ हजार मेगावाट बिजुली निर्यात गर्ने योजना छ । हाल वर्षायाममा भारमा करिब १ हजार मेगावाट र बंगलादेशलमा ४० मेगावाट विद्युत् निर्यात हुन्छ ।

 

प्रभु बैंकले संचालनमा ल्यायो ‘प्रभु डिजिटल क्युब’ Read Previous

प्रभु बैंकले संचालनमा ल्यायो ‘प्रभु डिजिटल क्युब’

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत