काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ, भने हवाई इन्धनको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको आजको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साविकको बिक्री मूल्यमा प्रतिलिटल १ रुपैयाँ र डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाएको छ । पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य यथावत् राखिएको छ ।
मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६०.५० रुपैयाँ, दोस्रो वर्गमा १६२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल पहिलो वर्गका लागि प्रतिलिटर १५०.५० रुपैयाँ, दोस्रो वर्गमा १५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२६ र काठमाडौँको हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ९६० कायम गरिएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १.०९ रुपैयाँ र डिजेलमा २.२२ रुपैयाँ बढेको तथा तथा हवाई इन्धनमा प्रतिलिटर १.७१ रुपैयाँ घटेकाले मूल्य समायोजन गरिएको निगमलको छ ।