घाटामा रहेको लघुवित्तको सेयर मूल्य ६५०० पुग्यो, नेपाल फाइनान्सकै हालत त हुँदैन ?

काठमाडौं । पछिल्लो समय सेयर बजार घट्दो क्रममा छ । गत साउन ३१ गते ३ हजार बिन्दुमा पुगेर त्यसयता ओरालो लागेको नेप्से हाल २६०० बिन्दु हाराहारीमा छ ।

बजार घट्दो क्रममा रहेकाले अधिकांश कम्पनीको सेयर मूल्य सस्तिएको छ । ४/५ महिनाकै अवधिमा केही कम्पनीको सेयर मूल्य आधाभन्दा धेरैले समेत घटेको छ । तर, यही अवधिमा एकाध कम्पनीको सेयर मूल्यमा भने उछाल आएको छ ।

अस्वभाविक मूल्य बढ्ने एकाध कम्पनी मध्येको एक हो आत्मनिर्भर लघुवित्त वित्तीय संस्था । पछिल्लो ४ महिनामै यसको सेयर मूल्य दोब्बरभन्दा धेरै अर्थात् ११६.५१ प्रतिशतले बढेको छ । साउन ३१ गते प्रतिकित्ता ३०१६ रुपैयाँ रहेको लघुवित्तको सेयर मूल्य आइतबार (पुस १४ गते) ६ हजार ५३० रुपैयाँ पुग्यो ।

यद्यपि, लघुवित्तले गत वर्षको नाफाबाट दिने बोनसका आधारमा नेप्सेले आइतबार सेयर मूल्य समायोजन गरी प्रतिकित्ता ५७१६ रुपैयाँ तोकेको छ । यही मूल्यमा सोमबार कारोबार खुल्नेछ ।

आखिर किन यसरी बढिरहेको छ त यसको सेयर मूल्य ? सीधा उत्तर हो चलखेल । लघुवित्तले व्यावसायिक रुपमा छलाङ मारेको र उच्च प्रतिफल दिनसक्ने सम्भावनाका कारण सेयर मूल्य बढेको होइन ।

अर्थतन्त्रमा आएको मन्दीका कारण समग्र लघुवित्त व्यवसाय समस्यामा छ । नयाँ व्यवसाय खुम्चिँदो छ भने विगतमा गरिएको कर्जा असुली हुन सकेको छैन । ऋण असुली हुन नसक्दा लघुवित्तहरूको खराब कर्जा ह्वात्तै बढेको छ । औसतमै लघुवित्तहरूको खराब कर्जा ७ प्रतिशत नजिक छ ।

आत्मनिर्भर लघुवित्तको वित्तीय अवस्था त झनै खराब छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्त साढे ४३ लाख रुपैयाँ घाटामा छ । व्यवसाय खस्कँदो क्रममा छ भने खराब कर्जा आकाशिएको छ । असोजसम्म लघुवित्तको खराब कर्जा झण्डै १५ प्रतिशत पुगेको छ ।

यस्तोमा पनि लघुवित्तको सेयर मूल्य बढ्नुको प्रमुख कारण चलखेल नै हो । सेयर संख्या थोरै भएकाले केही व्यक्ति वा समूहले कर्नरिङ गरी मूल्य बढाएको देखिन्छ । सेयर संख्या अति नै कम भएकाले केही व्यक्ति मिलेर सजिलै सबै सेयर उठाउन सक्ने अवस्था छ ।

नेप्सेमा सूचीकृत ५० वटा लघुवित्तमध्ये आत्मनिर्भर चुक्ता पूँजीका आधारमा दोस्रो सानो लघुवित्त हो । लघुवित्तको कुल ६ लाख ८५ हजार ७१८ कित्ता सेयर सूचीकृत छ । जसमा संस्थापकको ४ लाख ६२ हजार कित्ता र साधरण सेयर २ लाख २३ हजार ७१८ कित्ता छ । दैनिक कारोबार योग्य सेयर त्यही सर्वसाधरणको २ लाख २४ हजार कित्ता मात्रै हो ।

यसको सेयर संख्या अति नै न्यून भएकाले बिक्री चाप पनि कम हुन्छ । यस्तोमा पहिला एकैजनाले धेरै कित्ताका लागि अर्डर राख्ने र सेयर थुपार्ने काम हुन्छ । सीमित व्यक्तिसँग मात्रै सेयर जम्मा भएपछि कर्नरिङ गरी मूल्य उचाल्ने गरिएको देखिन्छ । दैनिक कारोबारले पनि यसको पुष्टि गर्छ ।

पछिल्लो साढे ४ महिनामा लघुवित्तको ८१ दिन कारोबार भएको छ । जसमा दैनिक औसतमा २ हजार ७५६ कित्ता मात्रै कारोबार भएको छ । ८१ दिनमा जम्मा ४ दिन मात्रै १० हजार कित्ता बढी कारोबार भएको छ । जसमा मंसिर १० गते सर्वाधिक १३ हजार ५४३ कित्ता सेयर किनबेच भएको छ । कुनै दिन त १०० भन्दा पनि कम कित्ता कारोबार भएको छ भने २४ दिन १ हजारभन्दा कम कित्ता कारोबार भएको छ ।

बजारमा आत्मनिर्भरभन्दा निकै बलिया लघुवित्तको सेयर प्रतिकित्ता १५०० देखि २ हजार रुपैयाँ बीचमा पाइने अवस्था छ । तर, आपूर्ति कम भएकै कारण यसको मूल्य अस्वभाविक उचालिएको छ । यस्तोमा लगानीकर्ता स्वयम्ले विवेक पुर्याउन जरुरत छ । नत्र आफ्नो लगानी डुबेर पछुताउनुको विकल्प छैन । यसअघि नेपाल फाइनान्स लगायत कम्पनीको मूल्य अस्वभाविक उचालिएको थियो । प्रतिकित्ता २६०० माथि पुर्याइएको फाइनान्सको मूल्य अहिले १ हजार हाराहारीमा झरेको छ ।

कस्तो छ वित्तीय अवस्था ?

आत्मनिर्भर लघुवित्त चालु आवको असोज मसान्तसम्म ४३ लाख ५३ हजार रुपैयाँ नोक्सानीमा छ । जबकि, गत वर्ष पहिलो त्रैमासमा लघुवित्तले ५२ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी बढे पनि संचालन नाफा घट्दा र प्रोभिजन रकम बढ्दा घाटामा गएको हो ।

लघुवित्तको खुद ब्याज आम्दानी १६.१७ प्रतिशतले बढेर ३ करोड १३ लाख पुगेको छ । त्यस्तै, यस अवधिमा लघुवित्तको संचालन मुनाफा २ करोड ३० लाख रुपैयाँ रहेको छ ।

खराब कर्जा बढेसँगै लघुवित्तको प्रोभिजन रकम ७०.२३ प्रतिशतले बढेर ४ करोड ५ लाख रुपैयाँ पुगेको छ । हाल ६ करोड ८५ लाख रुपैयाँ चुक्तापूँजी रहेको लघुवित्तको जगेडा कोषमा २० करोड ५ लाख रुपैयाँ संचित छ ।

असोज मसान्तसम्म लघुवित्तले ११ करोड ५० लाख सापटी र ८८ करोड १५ लाख निक्षेप संकलन गरी कुल १ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कर्जा असुल्न नसक्दा लघुवित्तको खराब कर्जा झण्डै दोब्बरले बढेको छ । गत वर्ष पहिलो त्रैमासमा ८.५३ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा चालु आवमा बढेर १४.४३ प्रतिशत पुगेको छ ।

छैन आकर्षक प्रतिफल

सबैभन्दा महँगो सेयर भए पनि लघुवित्तले सेयरधनीलाई आकर्षक प्रतिफल दिन सकेको देखिँदैन । पछिल्ला दुई आवमा लघुवित्तले वार्षिक १५ प्रतिशत मात्रै लाभांश दिएको छ । जुन यस क्षेत्रका अरु लघुवित्तले दिने औसत जति मात्रै हो ।

लघुवित्तले आर्थिक वर्ष २०७९/८० को नाफबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद दिएको थियो भने गत आव २०८०/८१ को नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद दिएको छ । आगामी वर्ष पनि आकर्षक लाभांश बाँड्न सक्ने यसको क्षमता देखिँदैन । लगानीकर्ताले प्रतिफलका लागि लगानी गर्ने हो । तर, आत्मनिर्भरको सेयर मूल्य र यसले दिएको/दिनसक्ने प्रतिफल लगानीको तुलनामा अति न्यून छ ।

दुर्घटना न्यूनीकरण गर्न पूर्व-पश्चिम राजमार्गमा ‘टाइमकार्ड’ Read Previous

दुर्घटना न्यूनीकरण गर्न पूर्व-पश्चिम राजमार्गमा ‘टाइमकार्ड’

पेट्रोलियम ढुवानी गर्दै आएका १०४ टंयाकर विस्थापित हुने, उचित व्यवस्थापनको माग Read Next

पेट्रोलियम ढुवानी गर्दै आएका १०४ टंयाकर विस्थापित हुने, उचित व्यवस्थापनको माग