बीमा कम्पनीले घरजग्गा किनबेच गर्ने मापदण्ड तयार, यस्ता छन् व्यवस्था

काठमाडौं । बीमा कम्पनीहरूका लागि घरजग्गा खरिद बिक्री गर्न मापदण्ड तयार बनाइएको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा मितव्ययी बनाउन ‘बीमकको स्थिर सम्पत्ति सम्बन्धी निर्देशन २०८१’ को मस्यौदा तयार पारेको हो ।

प्राधिकरणले जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरूका लागि घरजग्गा खरिद बिक्री सम्बन्धी मापदण्डहरूको मस्यौदा तयार पारेको हो । प्राधिकरणले मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाहरूलाई ७ दिनभित्र राय सुझाव माग दिन आग्रह समेत गरेको छ ।

प्रस्तावित मस्यौदा अनुसार बीमकले घरजग्गा खरिद, निर्माण गर्नुपूर्व प्राधिकरणबाट सैद्धान्तिक तथा अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । तर, घरजग्गा बाहेकका अन्य सम्पत्ति खरिद गर्दा भने प्राधिकरणको अनुमति लिनुपर्ने छैन् ।

बीमा कम्पनीहरूले कार्यालय प्रयोजनका लागि स्थिर सम्पत्ति खरिद तथा निर्माण गर्दा बीमकले हालसम्म खरिद गरेको स्थिर सम्पत्तिको ह्रासकट्टी पछिको हुन आउने खुद मूल्य र खरिद गर्न स्वीकृति माग गरेको स्थिर सम्पत्तिको लागतको योगफल गणना गरिएको नेटवर्थको ३० प्रतिशतको सीमाभित्र रहनुपर्नेछ । नेटवर्थको २ प्रतिशतभन्दा कम निर्माण लागत हुन गएमा प्राधिकरणको स्वीकृति लिनुपर्ने छैन । नेटवर्थ गणना गर्दा पछिल्लो लेखापरीक्षण गरिएको वित्तीय विवरणको आधारमा गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, बीमकले घरजग्गा खरिद, निर्माण गर्न निवेदन पेश गर्दा उक्त खरिद निर्माणको प्रयोजन समेत खुलाउनुपर्नेछ । कार्यालय प्रयोजन, व्यावसायिक प्रयोजन र कार्यालय तथा व्यावसायिक कुन हो खुलाउनु पर्नेछ । साथै, कार्यालय प्रयोजनको लागि प्रयोग हुने र व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने हिस्साको लागत र प्रतिशत खुलाई निवेदन दिनुपर्नेछ । व्यावसायिक प्रयोजनको लागि मात्र भए बीमकको लगानी निर्देशन बमोजिम स्वीकृति प्रदान गरिने व्यवस्था गरिएको छ ।

त्यसैगरी, बीमा कम्पनीहरूले आफ्नो आर्थिक प्रशासन विनियमावली बमोजिम घरजग्गा खरिद, निर्माण गर्नु अघि आवश्यक विवरण तथा कागजातसहित खरिद निर्माणको प्रयोजन खुलाई सैद्धान्तिक स्वीकृतिका लागि प्राधिकरणमा निवेदन दिनुपर्नेछ । सैद्धान्तिक स्वीकृति प्राप्त भएको मितिले ४ महिना भित्रमा खरिद, निर्माण प्रक्रिया अघि बढेको प्रमाण पेश गर्नुपर्नेछ । नत्र सो स्वीकृति स्वतः रद्द हुने मस्यौदामा उल्लेख छ ।

सैद्धान्तिक स्वीकृति प्राप्त भएपछि तोकिए बमोजिमको विवरण तथा कागजातसहित अन्तिम स्वीकृतिको लागि प्राधिकरणमा निवेदन दिनुपर्नेछ । प्राधिकरणबाट अन्तिम स्वीकृति प्राप्त भएको मितिले २ महिनाभित्रमा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको प्रमाण पेश गर्नुपर्नेछ । अन्यथा स्वीकृति स्वतः रद्द हुनेछ ।

बीमा कम्पनीहरूले घर निर्माण गर्दा प्राधिकरणबाट अन्तिम स्वीकृति प्राएको २ महिना भित्र निर्माण कार्य सुरू गर्नुपर्नेछ ।

त्यस्तै, बीमा कम्पनीहरूले आफनो स्वामित्वमा रहेको वा स्व–प्रयोजनमा प्रयोग भएको घरजग्गा बिक्री गर्दा बिक्री मूल्य गणना गरिएको नेटवर्थको १० प्रतिशत वा सोभन्दा बढी भएमा प्राधिकरण समक्ष स्वीकृतिका लागि निवेदन दिनुपर्नेछ । बीमकले आफनो स्वामित्वमा भएको घर जग्गा बिक्री गरेमा बिक्रीको शर्त, बिक्री मूल्य र खरिदकर्ताको विवरण बिक्री गरेको १५ दिन भित्र प्राधिकरणमा जानकारी गराउनुपर्नेछ ।

यस्तो छ मस्यौदा

 

पोखरा विमानस्थलमा सिचुवान एयरलाइन्सले तोड्यो भ्रम, नियमित उडानको पहल Read Previous

पोखरा विमानस्थलमा सिचुवान एयरलाइन्सले तोड्यो भ्रम, नियमित उडानको पहल

१२९८ फरार प्रतिवादी पक्राउ Read Next

१२९८ फरार प्रतिवादी पक्राउ