सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित

फाइल तस्वीर ।

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ ।

बैठक सभापति सन्तोष चालिसेले समितिबाट विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्झौतारत पक्षकाबीचको सामान्य त्रुटि भनी राखिएका विषयलाई हटाएर नियमावलीमै स्पष्ट पार्न सकिने जानकारी दिए ।

बैठकमा समितिका सदस्य उपेन्द्र यादवले सामान्य त्रुटि नराखी सोझै धितोसम्बन्धी भनेर उल्लेख गरिनुपर्ने बताए।

पूर्वअर्थमन्त्रीसमेत रहेका समितिका अर्का सदस्य डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय कानुनमा सामान्य त्रुटिको परिभाषा गरिएकाले त्यसै अनुसार यसलाई समाधान गरेर अघि बढ्नुपर्ने सुझाव  दिए ।

समिति  सदस्य डा. स्वर्णिम वाग्लेले सामान्य त्रुटिको परिभाषा अन्तर्राष्ट्रिय कानुनमा गरिएकाले विधेयकमा पनि व्यवस्था गरिनुपर्ने बताए ।

समिति सदस्य ज्ञानबहादुर शाहीले सामान्य त्रुटि भनेको के के हो भन्ने उल्लेख हुनुपर्ने बताए ।

बैठकमा समितिका सदस्यहरु छिरिङडम्गुल लामा, जुलीकुमारी महतो, गङ्गा कार्की, नारायणप्रसाद आचार्य लगायतले सामान्य त्रुटिका विषयलाई मिलाएर विधेयक पारित गरिनुपर्ने सुझाव दिएका थिए ।

बीमा प्राधिकरणको अध्यक्ष नियुक्त प्रक्रिया अघि बढ्यो, सिफारिस समित गठन Read Previous

बीमा प्राधिकरणको अध्यक्ष नियुक्त प्रक्रिया अघि बढ्यो, सिफारिस समित गठन

कामपाको सहरी योजना आयोगबाट ८४ वटा परियोजनाको डीपीआर तयार Read Next

कामपाको सहरी योजना आयोगबाट ८४ वटा परियोजनाको डीपीआर तयार