काठमाडौं । कमजोर वित्तीय अवस्थामा भएका विकास बैंक र फाइनान्स कम्पनीको सेयरमा लगानी गरेकाहरू अतालिन थालेका छन् ।
नेपाल राष्ट्र बैंकले बुधबार कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै नेप्सेले आजदेखि सेयर कारोबार रोक्का गरेको छ । यससँगै कर्णाली जस्तै कमजोर वित्तीय अवस्था भएका अरु विकास बैंक र फाइनान्सको सेयरमा लगानी गरेकाहरू पनि अतालिन थालेका हुन् ।
केही लगानीकर्तामा आफूले सेयर किनेको विकास बैंक र फाइनान्स पनि कतै समस्याग्रस्त घोषणा हुने त होइन भन्ने चिन्ता देखिन थालेको छ ।
समस्याग्रस्त घोषणा भएका वित्तीय संस्थाको सेयर कारोबार खुला हुन वर्षौंसम्म लाग्न सक्छ । केही संस्थै खारेजसम्म हुनसक्छन् । यस्तोमा लगानीकर्ताको सम्पत्ति लामो समयसम्म बन्धक हुन्छ । त्यसैकै मनोवैज्ञानिक त्रास आज केही विकास बैंककाे सेयरमा परेको हो ।
बिहीबार विकास बैंक र फाइनान्स समूहको परिसूचक साढे २ प्रतिशतभन्दा धेरैले घटेको छ । त्यसमा पनि कमजोर वित्तीय अवस्था भएका विकास बैंकको सेयर मूल्यमा उच्च गिरावट आएको छ । आज नारायणी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्याे । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज यी बैंकहरूको ठूलो संख्यामा सेयर बिक्रीमा थियो । तर, खरिदकर्ता नहुँदा कारोबार भने न्यून मात्र भएको छ । यसअघि लहडका भरमा अन्धाधुन्ध सेयर किनेकाहरूले आज अतालिएर बेच्न आएकाले विकास बैंकहरूको सेयर मूल्यमा ठूलो गिरावट आएको लगानीकर्ताहरू बताउँछन् ।
‘राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको देखा्दादेख्दै लगानीकर्ताले कर्णालीको सेयर महँगो मूल्यमा किनेका थिए । अहिले एकाएक कारोबार रोक्का भयो,’ एक लगानीकर्ताले भने, ‘कर्णाली जस्तै वित्तीय अवस्था कमजोर रहेको अन्य बैंक पनि समस्याग्रस्त नहोलान भन्न सकिन्न । त्यसैले आज केही बैंकको सेयर बिक्रीमा उच्च चाप पर्याे ।’
यसअघि स्वार्थ समूहहरूले चलाएको हल्ला र लहडमा कमजोर वित्तीय अवस्था भएका सेयर किनेकाहरू आज अतालिएको उनको भनाइ छ ।
नारायाणी, सिन्धु विकास, कर्पोरेट, ग्रीन डेभलपमेन्ट लगायत आधादर्जन विकास बैंकको वित्तीय अवस्था निकै कमजोर छ । अधिकांशको खराब कर्जा सीमा माथि छ भने केही घाटामा छन् । यी मध्ये केही बैंकलाई नेपाल राष्ट्र बैंकले सूक्ष्म निगरानीमा समेत राखेको छ । यी बैंकले यथाशीघ्र आफ्नो वित्तीय अवस्थामा सुधार ल्याउन नसके राष्ट्र बैंकले शीघ्र सुधारात्मक काराबाहीदेखि समस्याग्रस्ता घोषणा गरी आफ्नो नियन्त्रणमा लिन सक्छ ।
वित्तीय अवस्था कमजोर भएका केही विकास बैंक र फाइनान्स कम्पनीको सेयर मूल्य भने उच्च छ । घाटामा रहेका, वर्षौंदेखि लगानीकर्तालाई प्रतिफल दिन नसकेका, खराब कर्जा उच्च भए पनि सेयर मूल्य भने अस्वभाविक उचालिएको छ । सेयर संख्या कम भएकै कारण वित्तीय अवस्था जस्तो भए पनि मूल्य उचाल्ने गरिएको छ । लगानीकर्ता पनि अध्ययन नगरी लहडका भरमा त्यस्ता कम्पनीको सेयरमा अन्धाधुन्ध लगानी गर्ने गरेका छन् । तर, समस्या आएपछि भने अतालिने गरेको देखिन्छ ।
ब्यालेनसिट डामाडोल भएका कम्पनीको सेयर किनु अघि लगानीकर्ता आफैंले सचेत भई विवेक प्रयोग गर्नुपर्छ । नत्र पछुताउनुको विकल्प छैन ।