समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । कर्णाली डेभपलमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार कर्णालीलाई समस्याग्रस्त घोषणा गरेसँगै आजदेखि बैंकको कारोबार रोक्का भएको हो ।

बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८१० रुपैयाँ छ । राष्ट्र बैंकले यसअघि मंसिर ११ गते कर्णालीलाई शीघ्र सुधारात्मक कारबाही गरेको थियो । त्यसपछि पनि बैंकको अवस्थामा सुधार नदेखिएपछि समस्याग्रस्ता घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको हो ।

अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ग बमोजिम कर्णाली विकास बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिइएको राष्ट्र बैंकले जनाएको छ ।

‘कर्णाली डेभलपमेन्ट बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी यस बैंकको नियन्त्रणमा लिइएको हो,’ राष्ट्र बैंकले भनेको छ ।

उक्त बैंक सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले आजदेखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्नेछ ।

उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ । व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ड्यु डिलिजेन्स रिपोर्ट (डीडीए) सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार विकास बैंकको खराब कर्जा ५ प्रतिशत भन्दा कम र पूँजीकोष १० प्रतिशत माथि हुनुपर्छ । तर, राष्ट्र बैंकले गरेको अनुगमनमा बैंकको खराब कर्जा ४०.८५ प्रतिशत पाइएको छ ।

पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी ५० करोड २८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड ८ लाख रुपैयाँ संचित छ ।

यस अवधिसम्म बैंकमा सर्वसाधरणको ५ अर्ब २१ करोड रुपैयाँ निक्षेप छ । बैंकले ३ अर्ब ८१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । असोजसम्म बैंक १ करोड ९८ लाख रुपैयाँ घाटामा छ भने वितरण योग्य नाफा २० करोड ८३ लाख ऋणात्मक छ ।

सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुट दिँदै मधेश सरकार Read Previous

सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुट दिँदै मधेश सरकार

पोखरा विमानस्थलमा तेस्रो पटक चिनियाँ जहाज अवतरण Read Next

पोखरा विमानस्थलमा तेस्रो पटक चिनियाँ जहाज अवतरण