बजेट अभावले धनगढी-दिपायल सडकमा ८ पुल निर्माण प्रभावित

गोदावरी । धनगढी-खुटिया-दिपायल द्रुतमार्गमा निर्माणाधीन ८ पुलको काम प्रभावित भएको छ । धनगढी-खुटिया-दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको हो ।

उक्त सडक आयोजना कार्यालयले ३ वर्षअघि २०७८ माघमा ६ वटा र २०७९ जेठमा दुई गरी ८ पुल निर्माणका लागि २८ करोड ७५ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । पर्याप्त बजेट विनियोजन नहुँदा पुल निर्माणको कामले गति लिन नसकेको इन्जिनियर रैखोलाले जानकारी दिए ।

आयोजना कार्यालयले दिएको जानकारीअनुसार चप्टे नदीमा पुल निर्माण गर्न २ करोड ९७ लाख, मटेलीमा ३ करोड २६ लाख रुपैयाँ र चौकीगडा पुलका लागि ४ करोड ७० लाख रुपैयाँमा तथा सलेनामा सालाकोट पुल निर्माण गर्न ३ करोड ५१ लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

यसैगरी, कालाखोल-लामगाडा पुल ४ करोड ५ लाख रुपैयाँ, नकुराडी खोलाको पुल ३ करोड ८२ लाख, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमशः ५ करोड १९ लाख तथा ४ करोड ५० लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको इन्जिनियर रैखोलाले बताए ।

८ वटै पुलका निर्माणका लागि गत आर्थिक वर्ष २०८०/८१ मा ४०/४० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको थियो भने चालु आर्थिक वर्ष २०८१/८२ मा ८०/८० लाख रुपैयाँका दरले प्रतिपुल निर्माण गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

धनगढीदेखि बझाङको थलारासम्मको १८६ किलोमिटर सडकमा २३ किलोमिटर सडक कालोपत्र भएको छ भने ३६ किलोमिटर सडक कालोपत्र गर्न तीन खण्डमा ठेक्का लगाइएको सडक आयोजना कार्यालयले जनाएको छ । रासस

लाभांश प्रयोजनका लागि शिवम् सिमेन्टले तोक्यो बुकक्लोज Read Previous

लाभांश प्रयोजनका लागि शिवम् सिमेन्टले तोक्यो बुकक्लोज

पुस २१ देखि आइपीओ जारी गर्दै गार्डियन माइक्रो लाइफ Read Next

पुस २१ देखि आइपीओ जारी गर्दै गार्डियन माइक्रो लाइफ