काठमाडौं महानगरपालिकाले माग्यो सवारी साधनको ब्याट्री व्यवस्थापन बारे जानकारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन (विद्युतीय समेत)मा प्रयोग हुने ब्याट्री व्यवस्थापन बारे जानकारी माग गरेको छ ।

महानगरले एक सूचना जारी गर्दै सवारी साधनमा प्रयोगपछि काम नलाग्ने अवस्थाका ब्याट्रीहरूको संकलन, भण्डारण, पुनः प्रयोग र अन्तिम विसर्जनको विधि प्रक्रिया बारे जानकारी माग गरेको हो ।

महानगरले सवारीको ब्याट्री आयतकर्ता, बिक्रेता र प्रयोगकर्तालाई काम नलाग्ने ब्याट्री व्यवस्थापन बारे विस्तृत जानकारी पठाउन भनेको हो ।

‘काठमाडौं महानगरपालिकाभित्र कार्य क्षेत्र भएका सवारी साधनमा प्रयोग हुने ब्याट्रीका आयात कर्ता, विक्रेता तथा प्रयोग कर्ताहरूले आफ्नो दायित्वमा रहेका काम नलाग्ने अवस्थाका ब्याट्रीहरूको सङ्कलन, भण्डारण, पुनः प्रयोग र अन्तिम विसर्जनको विधि प्रक्रिया सम्बन्धी विवरण महानगरपालिका वातावरण व्यवस्थापन विभागमा उपलब्ध गराउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ महानगरपालिकाले भनेको छ ।

काम नलाग्ने ब्याट्रीहरूबाट निस्कने ठोस तथा तरल पदार्थ र ग्यासले वातावरणीय अवस्थामा नकारात्मक प्रभाव पुर्याउने महानगरले जनाएको छ ।

महानगरले वातावरण तथा प्राकृतिक संरक्षण ऐन, २०७७ को परिच्छेद ७ को दफा ५१ मा फोहर व्यवस्थापनको दायित्व सम्बन्धी व्यवस्था पूरा नगर्नेहरूलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ ।

१५ अर्बमा बन्दैछन् दुई पेट्रोलियम पाइप लाइन, ५४ महिनामा सक्ने सहमती Read Previous

१५ अर्बमा बन्दैछन् दुई पेट्रोलियम पाइप लाइन, ५४ महिनामा सक्ने सहमती

राधी विद्युतको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

राधी विद्युतको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?