१५ अर्बमा बन्दैछन् दुई पेट्रोलियम पाइप लाइन, ५४ महिनामा सक्ने सहमती

काठमाडौं । १५ अर्ब रुपैयाँ लागतमा ११२ किलाेमिटर लम्बाइकाे दुई पेट्रोलियम पाइप लाइन निर्माण गरिने भएको छ । भारतीय सरकारको अनुदानमा भारतको सिलिगुडी-चारआली (झापा) र अमलेखगन्ज-लोथर पेट्रोलियम पाइप लाइन निर्माण गरिने भएको हो ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) कोे ‘स्टेरिङ कमिटी’ बैठकले ती पेट्रोलियम पाइप लाइन परियोजना ५४ महिनाभित्रै सक्ने सहमति गरेको छ ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको बैठकले प्राविधिक तथ्यांक एकआपसमा आदानप्रदान गरी निर्माणका क्रममा कुनै समस्या आए तत्काल समाधान गर्ने सहमति पनि गरेको छ ।

बैठकमा निगमका तर्फबाट नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइत, नायब कार्यकारी निर्देशक दीपक बराल लगायत र आइओसीका तर्फबाट नेपालका कन्ट्री म्यानेजर निरुपम रायजादासहित अनिरुद्ध थाटे, प्रवीनकुमार सहभागी थिए ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पाइप लाइन निर्माण अवधिको गणना सुरु भएको बताए । उनले बैठकले पाइप लाइन सञ्चालन र समस्या आए तत्काल समाधान गरेर बाटो देखाउने सहमति गरिएको बताए । उनका अनुसार दुई पक्ष बीच पाइप लाइन बनाउने जग्गामा बाउन्ड्री चाँडै सक्ने र आइओसीलाई हस्तान्तरण गर्नेबारे छलफल भएको छ ।

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तार गर्न भारत दुई वटा पाइप लाइन र एउटा स्मार्ट ग्रिनफिल्ड टर्मिनल बनाउन गत असोज १७ गते सम्झौता भएको थियो ।

सम्झौता अनुसार भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । जसमा भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १५ किलोमिटर पाइपलाइन निर्माण हुने भएको हो । । साथै, चारआलीमा १८ हजार ९०० किलोमिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुनेछ ।

त्यसैगरी, भारत सरकारले नेपालको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन अनुदानमा निर्माण गरिदिने भएको छ ।

चितवनको लोथरमै ९१ हजार ९०० किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुनेछ । यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहने छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा ती आयोजना अगाडि बढाउने सहमति भएको थियो । यसअघि यो परियोजनामा भारतले अनुदान लगानी गर्ने वा ऋण भन्ने टुंगो नलाग्दा लामो समयसम्म सम्झौता हुन सकेको थिएन् ।

हाल नेपाल र भारत बीच ६९.१ किलोमिटर लामो मोतिहारी–अमलेखगञ्ज अन्तर देशीय पेट्रोलियम पाइपलाइन संचालनमा छ ।

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा Read Previous

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

काठमाडौं महानगरपालिकाले माग्यो सवारी साधनको ब्याट्री व्यवस्थापन बारे जानकारी Read Next

काठमाडौं महानगरपालिकाले माग्यो सवारी साधनको ब्याट्री व्यवस्थापन बारे जानकारी