काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा सहभागी हुन ४ देशबाट पर्यटन मन्त्रीहरु नेपाल आइपुगेका छन् । ३० बढी देशहरुका पर्यटन मन्त्रीहरुलाई बोलाइएको भएता पनि ४ देशका मन्त्रीहरु मात्र भ्रमण वर्ष २०२० को उद्घाटनमा सहभागी हुन आएका हुन् ।
जमैकाका पर्यटनमन्त्री एमडन्ड बार्लेट, चिनियाँ सहायक पर्यटनमन्त्री वङ सियाओफेङ, म्यानमारका पर्यटनमन्त्री यू ओ माउङ र भारातीय पर्यटन मन्त्री प्रहलाद सिंह पाटेल भ्रमण वर्षको उद्घाटनका लागि मंगलबार नै नेपाल आइपुगेका हुन् ।यस्तै भुटान, कतार र कम्बोडीयाबाट उच्च पदाधिकारीहरु समेत आएको संस्कृती तथा पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
नेपालबाट जमैका जान प्लेनमा १ दिन ६ घण्टा लाग्छ । पर्यटन मन्त्री त सजिलै नेपाल आए होलान तर त्यस देशबाट नेपालमा कति पर्यटन आउलान् यसै भन्न सकिदैन । जमैकाबाट हालसम्म नेपालमा कुनै पर्यटक भित्रिएको तथ्यांक पाउन सकिएको छैन ।
यसैगरी म्यानमारबाट नेपाल आइपुग्न १३ घण्टा २५ मिनेट लाग्छ । म्यानमारबाट मासिक जम्मा ३ हजारका हाराहारीमा पर्यटकहरु भित्रिने गरेका छन् ।
सरकारले भ्रमण वर्षको उद्घाटनका दिन ३० बढी राष्ट्रका पर्यटन मन्त्रीलाई बोलाउँदा ४ देशका पर्यटन मन्त्रीहरु मात्र आए पनि विश्वभरका ४० बढी मिडिया हाउसहरु काठमाडौंमा भ्रमण वर्ष २०२० को उद्घटनका लागि आएका छन् ।
आज नेपालका ७ वटै प्रदेशमा सबैले आ–आफ्नो तरिकाले भव्यताका साथ भ्रमण वर्षको उद्घाटन गर्ने तयारी गरिएको छ ।यो वर्षलाई उत्सवका रुपमा मनाउन गैरसरकारी, निजी क्षेत्र, अन्तराष्ट्रिय तथा विभिन्न संघ तथा संस्थाहरुलाई समेत आग्रह गरिएको छ ।
कसरी उद्घाटन हुँदैछ भ्रमण वर्ष २०२०
काठमाडौंस्थित दशरथ रंगशालामा विशेष कार्यक्रमका साथ राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० को घोषणा गर्ने भएकी छिन् ।
सन् २०११ पछि पर्यटन प्रर्वद्धनका लागि हुन लागेको यस अभियानलाई सफल पार्न हरेक स्तरबाट पर्यटकहरु बोलाउने काम भइरहेको छ ।
भ्रमण वर्षलाई सफल तुल्याउन सरकारले नयाँ गन्तव्यहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई विक्री गर्ने योजना बनाएको छ भने निजी क्षेत्रहरुले पनि वर्षभरीकै लागि छुटको प्याकेज ल्याएका छन् ।
नेपालमा सबैभन्दा बढी अमेरिका, बेलायत, क्यानडा, जापान, कोरिया, चीन, भारत, मलेसियालगायतका देशहरुबाट पर्यटक आउने गरेको अध्ययनगमन विभागको तथ्यांकले देखाएको छ ।