काठमाडौं । हारका बाबजूद कर्णाली याक्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा पुगेको छ । सोमबार भएको लिग चरणको अन्तिम खेलमा कर्णाली सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले हारे पनि अन्तिम चारमा पुगेको हो ।
यससँगै एनपीएलको प्ले अफ समीकरण पूरा भएको छ । एनपीएलमा सहभागी ८ टिममध्ये सुदूरपश्चिम, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली प्लेअफमा पुगेका हुन् ।
७ मध्ये ६ खेल जितेको सूदुरपश्चिम १२ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । सुदूरपश्चिमले अब जनकपुरसँगै क्लालिफायर १ खेल्नेछन् ।
दोस्रो स्थानको जनकपुर बोल्ट्सले ५ खेलमा जित हात पार्दै १० अंक जोड्यो। चितवन राइनोज र कर्णालीको समान ८/८ अंक रहे पनि नेट रननेटका आधारमा चितवन तेस्रो स्थानमा रह्यो भने कर्णाली चौथो भयो। तेस्रो र चौथो भएका चितवन र कर्णाली इलिमिनेटरमा भिड्नेछन्।
८ अंक नै जोडेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरियो ।
बुधबार विहान इलिमिनेटर र दिउँस पहिलो क्वालिफायर हुनेछ। इलिमिनेटर जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । त्यस्तै पहिलो क्वालिफायर जित्ने टोली फाइनल पुग्नेछ भने हार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ।
दोस्रो क्वालिफयार जित्ने टोली फाइनलमा पुग्नेछ । दोस्रो क्वालिफाइर बिहीबार हुनेछ भने फाइनल खेल शनिबार हुनेछ।