काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले मंसिर ११ गतेदेखि बिक्रीम ल्याएको चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद पुस १६ गतेसम्म थप भएको हो ।
इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रिय कार्यालयहरू, लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु, तिशनका शाख कार्यालयका साथै मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गरेको थियो । सो अनुसार कात्तिक २६ गतेसम्म कायम रहने सेयरधनीले हकप्रदमा आवेदन दिन पाउने छन् ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले इन्स्योरेन्सलाई ‘इक्राएनपी इस्यूअर ए माइनस’ रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको जनाउँदछ ।
हाल १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हकप्रदपछि २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ ।