काठमाडौं । ४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत परियोजनामा ४ बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
उक्त परियोजनामा सिटिजन्स बैंकको अगुवाईमा एभरेष्ट , नेपाल एसबीआइ र सानिमा बैंकले कुल ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।
सोमबार आयोजना प्रवद्र्धक कम्पनी गुराँस हाइड्रो लिमिटेड र लगानीकर्ता बैंकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ ।
आयोजनामा नेतृत्वकर्ता सिटिजन्स बैंकले २ अर्ब ९० करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड, नेपाल एसबीआइ बैंकले १ अर्ब २५ करोड र सानिमा बैंकले ७५ करोड लगानी गर्नेछन्
परियोजनाको अनुमानित लागत करिब ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । सोमध्ये ऋण–स्वपूँजी अनुपातमा ७५ः२५ रहेको छ । सो अनुसार बैंकहरुले ६ अर्ब १५ करोड बराबरको ऋण लगानी गर्नेछन् भने २ अर्ब ५ करोड स्वपूँजी प्रवद्धकहरुबाट जुटाइने छ ।
उक्त परियोजना कोशी प्रदेश, संखुवासभा जिल्ला, सिलिचोङ गाँउपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाँउपालिकमा निर्माण हुनेछ ।
परियोजना आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको संखुवासभास्थित सित्तलपाटी सबस्टेसनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घण्टा र वर्षायाममा १६५.८८८ गिगावाट गरी वार्षिक २४०.९२९ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।