घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताए ।
घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सुरुआत गरिएको उनले बताए । ‘अहिले काम अन्तिम चरणमा पुगेको छ, अबको एक महिनापछि पूर्ण रूपमा सञ्चालन गर्ने तयारीमा छौँ,’ सञ्चालक गौतमले भने ।
७५० मिटर लामो जीपलाइन साहसिक र रोमाञ्चक हुने उनले बताए । छिट्टै सञ्चालनमा आउन लागेको जीपलाइनसँगै स्काई साइक्लिङ पनि हुनेछ । स्काई साइक्लिङ भने १५५ मिटर लामो रहने छ । घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन र स्काई साइक्लिङको काम केही बाँकी रहेका कारण प्राविधिकको टोलीले काम गरिरहेको उनी बताउँछन् । हालसम्म १ करोड रुपैयाँ बढी लगानी लागेको र अझै काम भइरहेकाले लगानी बढ्ने गौतमको भनाइ छ ।
घोरदौरामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य यहाँको पर्यटन प्रवर्द्धन गर्नु हो । जीपलाइनका लागि १ हजार ८५० रुपैयाँ शुल्क निर्धारण गरिएको र साइक्लिङको भने काम भइरहेकाले अझै शुल्क निर्धारण नभएको सञ्चालक गौतमले बताए ।रासस