दाङमा ४ महिनामै २६३ उद्योग बन्द

घोराही । चालु आर्थिक वर्षको चार महिनामा दाङमा २६३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बन्द हुनेमा १०९उद्योग र १५४ वटा व्यावसायिक फर्म रहेका छन् ।

कार्यालयका अनुसार कात्तिकमा उद्योग १७ र वाणिज्यतर्फ २५ वटा गरेर ४२ वटा, असोजमा उद्योगतर्फ ३० र वाणिज्यतर्फ ३१ गरी ६१, भदौमा उद्योगतर्फ ३० र वाणिज्यतर्फ ३७ गरी ६७ वटा र साउनमा उद्योगतर्फ ३२ र वाणिज्यतर्फ ६१ वटा गरेर ९३ घरेलु तथा साना उद्योगको लगत कट्टा गरिएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गोपाल पौडेलले राससलाई जानकारी दिए ।

नयाँ दर्ता हुने उद्योग तथा व्यवसायको संख्या बढे पनि बन्द हुने उद्योग व्यवसायको अवस्था पनि उस्तै रहेको भन्दै सूचना अधिकारी पौडेलले भने, ‘आर्थिक मन्दीसँगै विदेश जानलाई र व्यवसाय चलाउन नसक्ने अवस्था देखाउँदै उद्योग बन्द गर्नेको संख्या धेरै छ ।’ उनका अनुसार बन्द हुनेमा अधिकांश व्यवसाय ऋण खानका लागि खोलिएका हुने गरेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता हुँदै आएका छन् । जिल्लामा चालु आर्थिक वर्षको चार महिनामा तीन सय ५० भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आव २०८१/८२ को साउनदेखि कात्तिकसम्म तीन सय ६६ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।

दर्ता हुनेमा उद्योगतर्फ १४२ र वाणिज्यतर्फ २२४ वटा रहेका सूचना अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार कात्तिकमा उद्योगतर्फ २४ र वाणिज्यतर्फ ३७ गरी ६१ वटा, असोजमा उद्योग २६ र वाणिज्यतर्फ ४२ गरी ६९ वटा, भदौमा उद्योगतर्फ ४१ र वाणिज्यतर्फ ५६ गरी ९७ वटा र साउनमा उद्योगतर्फ ५१ र वाणिज्यतर्फ ८८ गरी १३९ वटा व्यावसायिक फर्म दर्ता भएका छन् ।रासस

सरकारले कार्बनबाट भएको आम्दानीको नवीकरणीय ऊर्जा प्रवर्द्धनमा खर्च गर्ने Read Previous

सरकारले कार्बनबाट भएको आम्दानीको नवीकरणीय ऊर्जा प्रवर्द्धनमा खर्च गर्ने

सेती जलविद्युत् आयोजनाको व्यापारिक उत्पादन सुरू Read Next

सेती जलविद्युत् आयोजनाको व्यापारिक उत्पादन सुरू